लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा जारी २१ औँ लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृति एउटै मञ्चमा जोड्दै फरक खालका कार्यक्रम प्रस्तुत हुन थालेका छन् ।
महोत्सवलाई परिस्कृत स्वरूप दिँदै पहिलो पटक स्टेज कार्यक्रममार्फत उद्योगी, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरिएको छ। महोत्सवको छैटौं दिन मंगलबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित उद्योग बहस कार्यक्रमले उद्योग क्षेत्रका सरोकारवालाबीच अनुभव साटासाट र छलफलको अवसर प्रदान गर्यो।
सुरुका दिनमा सुन्तला उत्पादन र बजारीकरण प्रवद्र्धनका लागि आयोजना गरिएको लेखनाथ महोत्सव समयक्रमसँगै स्थानीय संस्कृति, कला, कृषि र उद्योगको प्रवद्र्धनमा केन्द्रित हुँदै आएको पाइन्छ ।
उद्योग बहस कार्यक्रममा विभिन्न उद्योगका प्रतिनिधिले आफ्ना व्यावसायिक यात्रा, संघर्ष र सफलताका कथा सुनाए । कर्माचार्य ग्रुपका विक्रम कर्माचार्यले व्यावसायिक परिवारमा जन्मिएकाले सानै उमेरदेखि व्यवसायप्रति आकर्षित भएको बताए । उनले १३–१४ वर्षकै उमेरमा नेपाली उत्पादनहरू जस्तै टुथपेस्ट, मेची चिया, मायालु साबुन र सोल्टी साबुन बिक्री गरेको अनुभव स्मरण गरे । खुला सीमाका कारण नेपाली व्यवसायमा परेको असर अनुभूति गरेपछि स्वदेशी उत्पादनलाई ब्रान्डका रूपमा स्थापित गर्दै विज्ञापनमार्फत अघि बढ्ने सोच बनाएको उनको भनाइ थियो ।
यस्तै, दीप आइसक्रिम सञ्चालक पम्फा देवकोटाले ‘म कर्म गर्न सक्छु र कर्म गरेरै अगाडि बढ्छु’ भन्ने दृढ इच्छाका साथ व्यवसायमा लागेको बताइन् । उनले निरन्तर मेहनत, आत्मविश्वास र कर्मचारीको साथले आफ्नो व्यवसाय अघि बढ्दै गएको अनुभव सुनाउँदै संघर्षका कथा सुनाइन् ।
यसैगरी, मनकामना प्लाइउड कम्पनीका सञ्चालक नारायणप्रसाद बास्तोलाले सानो सःमिलबाट सुरु व्यवसाय प्लाइउड उद्योगसम्म आइपुग्दा विभिन्न चुनौती झेल्नुपरेको बताए । विशेषगरी नेपालमा वन पैदावारसम्बन्धी स्पष्ट कानून अभावले व्यवसाय सञ्चालनमा समस्या आएको स्मरण गर्दै संघर्षकै बीच व्यवसायलाई निरन्तरता दिएको उनले बताए । बहस बाट व्यवसायीहरु उत्साही भएको छन।
कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उद्योग महाशाखा प्रमुख महराज ढकालले उद्योग प्रवद्र्धनका लागि अनुदानको सीमा बढाउनुपर्ने आवश्यकता औँल्याए । डिपिआरमै ठूलो खर्च हुने हुँदा धेरै योजना अलपत्र पर्ने अवस्था आएको उल्लेख गर्दै अनुदानलाई निश्चित दायराभित्र ल्याउने प्रयास भइरहेको जानकारी दिए ।
आयोजकका अनुसार महोत्सवको छैटौँ दिन मंगलबार मात्रै करिब २५ हजार दर्शकले अवलोकन गरेका छन् । दैनिक करिब १ करोड रुपैयाँ बराबरको कारोबार हुने गरेको महोत्सवका प्रचारप्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए । महोत्सव १४ पुससम्म चल्नेछ ।
महोत्सव अवधिभर २ लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र ९ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान छ । यस्तै, कुल १० लाख बचत हुने आयोजकको अनुमान छ ।
महोत्सव आकर्षणमा औद्योगिक व्यापार मेला, स्थानीय कला संस्कृतिको प्रदर्शन, हस्तकलाका सामग्री, सूचना प्रविधि तथा सञ्चारका उपकरण, अटोमोबाइल, वित्तीय संस्थाको सेवा तथा जानकारी दिने स्टलहरुलगायत छन् । गृहलक्ष्मी ग्यास कम्पनीले मुख्य प्रायोजन गरेको छ ।