कास्की । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ हुने निर्वाचनका लागि समानुपातिक तर्फ कृषि विज्ञ ज्ञानु आचार्यलाई उम्मेदवारका रूपमा अघि सारेको छ। कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट सिफारिस भई पार्टीको बन्दसूचीमा समावेश भएकी आचार्यलाई युवा नेतृत्वको प्रतिनिधि र वैकल्पिक राजनीतिका प्रतीकका रूपमा हेरिएको छ।
दीर्घकालीन रूपमा कृषि सुधार, दिगो विकास, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय आचार्य ‘जागौं नेपाल राष्ट्रिय अभियान’ की अभियन्ता हुन्। उनले देशका विभिन्न जिल्लामा किसान, युवा तथा सीमान्तकृत समुदायसँग प्रत्यक्ष सहकार्य गर्दै कृषि उधमशिलता विकास, कौसी खेती, बेमौसमी तरकारी खेती, ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता तालिम, नेतृत्व विकास आदि तालिमहरुको प्रशिक्षण गर्दै आएकी थिईन्।
शैक्षिक रूपमा आचार्यले नेपाल पोलिटेक्निक ईन्स्टिच्युटबाट डिप्लोमा इन एनिमल साइन्स, बि.एस्सी. कृषि र पृथ्वीनारायण क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्। साथै, हाल उनी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा कानुन विषयमा अध्ययनरत छिन्। कृषि, समाज र कानुनको संयोजनले उनलाई नीतिगत र व्यवहारिक समस्याहरू बुझ्ने सक्षम युवा नेतृत्वका रूपमा स्थापित गरेको विश्लेषण गरिएको छ।

उद्यमशीलता विकास र नेतृत्व विकासकी सहजकर्ताका रूपमा पनि परिचित आचार्यले कृषि र पर्यटनमा आधारित उद्यमलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाइनुपर्ने धारणा राख्दै उनले सुशासन, पारदर्शिता र जवाफदेहितालाई आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा राखेकी छन्। नेकपाको केन्द्रीय समितिका सदस्य आचार्यको उम्मेदवारी युवा, किसानमुखी र उत्पादनशील वर्गको प्रतिनिधित्व रहेको छ।
युवाहरुलाई स्वदेशमा कृषि कार्य मार्फत रोजगारीको सिर्जना गरि बैदेशिक पलायनतालाई केहि हद सम्म रोक्न सकिने आचार्यको योजना रहेको छ।
नेकपा संयोजक प्रचण्डले कृषि विषय अध्ययन गरेका हुन । यसर्थ, मुलुक बुझेको जिम्मेवार किशान मैत्री नेतृत्वको रुपमा संयोजक प्रचण्डको आचार्यको खुलेर प्रशंसा गरिन।