पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव नजिकिँदै गएको छ । यही २९ पुसदेखि ११ माघसम्म अमरसिंह चौर खेलमैदानमा हुने महोत्सवको तयारी तीव्र पारिएको बुधबार आयोजकले पत्रकार गरी जनाएको हो ।
‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने मूलनाराका साथ २०६७ वैशाख ७ मा स्थापना भएको क्लबले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि निरन्तर पोखरा महोत्सवको आयोजना गर्दै आएको छ । यसपालि १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५० स्टल रहने छन् । सबै स्टल बुकिङ भइसकेका छन् । महोत्सवमा २ लाखदेखि साढे २ लाखसम्म दर्शक आउने अनुमान छ । आम्दानी १ करोड ५१ लाख ७५ हजार र खर्च १ करोड २३ लाख ६० हजार हुने अनुमान छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिको प्रदर्शनी एवं जानकारी, व्यावसायिक संघसंस्थाको सेवाबारे जानकारी, उपभोग्य बस्तको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामग्री प्रदर्शनी एवं जानकारी, पर्यटकीयस्थलबारे जानकारी, सामाजिक संस्थाको परिचय, नृत्य प्रस्तुति, विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगिता, कृषिका गतिविधिसमेत सञ्चालन हुनेछन् । नेपाली संस्कृति झल्कने प्रस्तुति, बालउद्यान, विद्यालयस्तरीय लोकनृत्य, छेलो, झाँकी प्रदर्शनी, विज्ञान प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहनेछन् ।
यसैगरी, दैनिकरुपमा कलाकारको प्रस्तुति रहनेछ । जसमा रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपूत, समीक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज लगायतका कलाकार आउनेछन् । लाइभ कन्सर्टमा पूर्ण राई, डी मर्चा, लेकाली, जेम्सी, सविन राई, भिटेन, लाहुरे, टुकीसँगै स्थानीय ब्याण्डहरुको प्रस्तुति रहनेछ । महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर होम एपलाएन्सेस हो ।
पोखरा २७, अर्चलेमा रहेको आफ्नै जग्गामा गरिब तथा आर्थिक विपन्न परिवारका बालबालिकालाई लक्षित गरी युनाइटेड छात्राबास निर्माणका लागि डिपिआर अनुरुप निर्माण अघि बढेको छ । डिपिआर अनुरुप उक्त जग्गामा २० कोठाको भवन निर्माण सम्पन्न गर्नुपर्नेमा यस वर्ष ३ कोठाको भवन निर्माण भइसकेको र १४औँ पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक सत्रदेखि कार्यविधि निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइने जनाइएको छ ।