माओवादी केन्द्रमा उत्तराधिकारीहरु निर्माणको सवाल

अब नेतृत्व विकास अपरिहार्य र आकस्मिक किन भयो भने नेतृत्व विकास कुनै एकदिनमा तयार हुने कुरा होइन। यो समय, सङ्घर्ष र वैचारिक परिपक्वताको परिणाम हो। तर वर्तमान सन्दर्भमा नेतृत्व विकासको अवसर मात्र होइन, आकस्मिक आवश्यकता पनि देखिन्छ।

वि.स २०५२ सालदेखि सुरु भएको जनयुद्ध, त्यसपछिको शान्ति प्रक्रिया र संविधान निर्माणसम्मको माओवादी केन्द्रको भूमिका ऐतिहासिक छ।तर शान्तिपछि संसदीय राजनीतिमा प्रवेश गरेपछि यो पार्टी नेतृत्व,नीति र व्यवहारका स्तरमा अनेक प्रश्नहरूको घेरामा आएको छ। आजको परिस्थितिमा नेतृत्वको पुनरावलोकन र रूपान्तरण आवश्यक मात्र होइन, अपरिहार्य भइसकेको छ।यद्यपि नेपालको समकालीन राजनीतिमा माओवादी आन्दोलन र यसको संस्थागत राजनीतिक यात्राले गहिरो प्रभाव पारेको छ।

विगतको नेतृत्व: परिवर्तनको दायित्व, तर सीमित उत्तरदायित्व सुरुवाती चरणमा माओवादी नेतृत्वले वर्गीय उत्पीडन, जातीय विभेद, लैङ्गिक असमानता र क्षेत्रीय बेवास्ताविरुद्ध सशस्त्र संघर्षको बाटो रोज्यो। सशस्त्र विद्रोहका नेतृत्वकर्ताहरूले राज्यसत्तामा गहिरो परिवर्तन ल्याउने विश्वास र संकल्प लिए। त्यसको परिणाम स्वरूप आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको संरचनाभित्र छौं।

तर आन्दोलनपछि उत्पन्न सत्ता–राजनीतिक संक्रमणमा नेतृत्वले सबै कुरा व्यवस्थित गर्न सकेन। अवसरवाद, गुटबन्दी, वैचारिक अस्पष्टता र निरन्तर सरकार बनाउने होडमा फसेपछि माओवादी नेतृत्वले जनविश्वास गुमाउँदै गयो। परिवर्तनको आशा बोकेका जनताका आँखामा नेताहरू सत्ताका खेलाडी मात्र बने।

अब नेतृत्व विकास अपरिहार्य र आकस्मिक किन भयो भने
नेतृत्व विकास कुनै एकदिनमा तयार हुने कुरा होइन। यो समय, सङ्घर्ष र वैचारिक परिपक्वताको परिणाम हो। तर वर्तमान सन्दर्भमा नेतृत्व विकासको अवसर मात्र होइन, आकस्मिक आवश्यकता पनि देखिन्छ।

देशमा निराशा चुलिँदो छ—बेरोजगारी, महँगी, भ्रष्टाचार र शिक्षा–स्वास्थ्यमा बिग्रँदो अवस्था।सत्ताको नाममा गठबन्धनको व्यापार बढ्दो छ, नीतिभन्दा सत्ता केन्द्रित राजनीति मौलाउँदै गएको छ।पुराना नेताहरूको विश्वास गुम्दै गएको बेला युवापुस्ताले अब नेतृत्वमा स्थान खोज्न थालेका छन्।

यस्तो अवस्थामा नेतृत्व विकास अब दीर्घकालीन योजना मात्र होइन, तत्कालको आवश्यक कार्यभार हो। अबको नेतृत्वले समाजको जटिलता बुझ्नसक्ने, संवाद गर्नसक्ने, र नीति निर्माणमा सक्रिय भूमिका खेल्न सक्ने हुनुपर्छ।त्यसै गरी अब हामी संग नेतृत्व विकासका आधारहरू मध्य
१. सैद्धान्तिक स्पष्टता र व्यवहारिक दृष्टिकोण:
केवल नारामा सीमित नभई व्यवहारमै परिवर्तन ल्याउने खालको नेतृत्‍व आवश्यक छ। मार्क्सवाद, माओवादी विचारधाराको आधुनिक व्याख्या गर्दै आजको डिजिटल, भूमण्डलीकृत समाजसँग जोड्न सक्नुपर्ने हुन्छ।
२. समावेशी नेतृत्वको अभ्यास:
महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, पहिचान र भौगोलिक आधारमा पछाडि पारिएका समुदायहरूलाई अग्रपंक्तिमा ल्याउने नेतृत्व विकास गर्नुपर्नेछ।
३. स्थानीय तहदेखि केन्द्रीय तहसम्म अभ्यास:
स्थानीय राजनीति, समाजसेवा, जनसरोकारका विषयमा निरन्तर सक्रिय व्यक्तित्वहरूलाई अघि ल्याउन सक्ने संयन्त्र बनाइनुपर्छ।
४. इमानदार छवि र वैचारिक प्रतिबद्धता:
आजको राजनीतिले “कसले बढी बोले?” भन्दा “कसले बढी गरे?” मा मूल्यांकन गर्न थालिसकेको छ। नेताको व्यक्तित्व शुद्ध, पारदर्शी र जवाफदेही हुनु जरुरी छ।
यसबाट पाठ सिक्नुपर्ने के हो भने—बलियो भाषण मात्रै होइन, गम्भीर नीति निर्माण र संस्थागत आधार निर्माण गर्ने नेताको खाँचो छ। त्यसको लागि माओवादी केन्द्रले ‘वक्तृत्व–केन्द्रित’ नेतृत्वभन्दा “कार्य–केन्द्रित र नीति–संवेदनशील नेतृत्व” तर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखिन्छ।

प्रचण्डपछिको नेतृत्व सम्भावना: उत्तरदायित्वको पुस्तान्तरणमाओवादी केन्द्रको भविष्य न त केवल पुरानो पुस्तामै सीमित छ, न केवल नयाँ पुस्ताको हातमा सुम्पन मिल्ने खालको अवस्थामा छ। बरु, यो संक्रमणकालमा प्रचण्ड जस्ता अनुभवी नेताको मार्गदर्शन र युवा पुस्ताको कार्यान्वयन क्षमता बीचको सन्तुलन नै पार्टीको पुनर्जागरणको मूल चाबी हो।

प्रचण्डले आजसम्म गरेका ऐतिहासिक कार्यहरूको निरन्तरता, र उहाँभित्र अझै रहेको परिवर्तनको इच्छा शक्ति, देशका लागि अझै उपयोगी हुन सक्छ। त्यसैले भन्न सकिन्छ, हालका चुनौतीपूर्ण परिस्थितिमा प्रचण्डको विकल्प प्रचण्ड आफैँ हुनसक्छन्—तर नवीकरणको दिशामा अग्रसर हुने प्रतिबद्धता र सामुहिक सोचका साथ
तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक यात्रा ऐतिहासिक छ। तर पनि नेतृत्व पुस्तान्तरणको बहस पार्टीभित्र तीव्र हुँदै गएको छ।यसलाई समेत एकरुपताको आधार स्तम्भ तयार गरेर मात्र सम्भव छ।

अबको नेताले केवल क्रान्तिको कथा बोकेर होइन, वर्तमानको समाधान प्रस्तुत गरेर जनता सामु उभिनुपर्छ। त्यो नेतृत्वले ‘संघर्ष’ र ‘सम्भावना’ बीच पुल बन्नुपर्ने हुन्छ।
सांचैनै : अब नेतृत्व रूपान्तरणको युग सुरु गर्नुपर्ने बेला हो।

माओवादी आन्दोलनले धेरै कुरा दिलाएको छ—संविधान, गणतन्त्र, समावेशिता। तर अब ती उपलब्धिहरू जोगाउने र कार्यान्वयनमा उतार्ने नेतृत्व चाहिएको छ। सत्तामुखी राजनीतिबाट समाजमुखी राजनीतिमा पुनरागमन गराउन सक्ने नेतृत्व निर्माण नै माओवादी केन्द्रको पुनरुत्थानको एक मात्र उपाय हो।

युवाको आँखामा आशा र यथार्थ दुवै छ। यदि पार्टीले त्यो चेतनालाई चिनेर नयाँ पुस्तालाई मार्गदर्शनसहित नेतृत्व दिन सक्यो भने जनताको विश्वास पुनः जित्न सकिन्छ। अब नेतृत्वमा समन्वय, सन्तुलन, स्वच्छता र सम्भावनाको संयोजन हुनैपर्छ।

किनभने, नेतृत्व बदलिएन भने न नीति बदलिन्छ, न समाज।नेपालको माओवादी आन्दोलन एउटा ऐतिहासिक क्रान्ति थियो। अबको चुनौती भनेको त्यही क्रान्तिलाई समृद्धि, सुशासन र विकासमा रूपान्तरण गर्नु हो।यो कार्यका लागि नेतृत्वको पुस्तान्तरण अपरिहार्य भएको छ। तर त्यो हटाउने होइन, जोड्ने प्रक्रिया हुनुपर्छ।माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले भने जस्तै अध्यक्ष प्रचण्डले माओवादी पार्टीमा परिपक्क र जनउत्तरदायि उत्तराधिकारीहरु सोपान क्रम अनुसार निर्माण गरिरहेका छन।

प्रतिक्रिया दिनुहोस