अविरल वर्षसंगै पोखरामा बाटोसँगै घर भासियो

पोखरा महानगरपालिका–४, बुढानिलकण्ठ मन्दिर नजिकैको सडकमा आइतबार विहान बाटो सहित एक घर भासिएको छ । लगातारको वर्षासँगै जमिन गलेर भासिएको स्थानीयको भनाई छ।

पोखरा–बागलुङ राजमार्गको फिर्केखोला पुलसँगैबाट बुढनिलकण्ठ मन्दिर हुँदै गणेशटोल सिद्धार्थचोक र गैरापाटन निस्कने सडक भासिएको हो । सडकमा भ्वाङ परेकाले आसपासको क्षेत्र जोखिममा परेको छ। सवारी तथा पैदलयात्रु आवागमन अवरुद्ध बनेको छ।

बुढानिलकण्ठ मन्दिर, बुढानिलकण्ठ क्रियाकर्म आवासीय भवन र पुन काष्ठ फर्निचर शोरुम बढि जोखिममा परेको छ।
फर्निचर शोरुमको डीपीसी ढलानमुनी भासिएकोले शोरुम बढि जोखिममा छ।

बगलुङ बसपार्क प्रहरी चौकीका अनुसार राती १ बजेतिर भासिएको जनाएको छ। प्रहरी चौकीबाट गस्तीमा खटिएको प्रहरी टोलीले राती नै भ्वाङ परेको भेटेको जनाएको छ।

अहिले, पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको उपस्थितिमा महानगरपालिका कर्मचारीले भासिएको क्षेत्रलाई तार र डोरीले बेरेर राखेको छ। तत्काल भ्वाङ पुरेर जोखिम न्युनिकरण कम गर्ने प्रयासमा रहेको वडाध्यक्ष पराजुलीले बताए।

प्रतिक्रिया दिनुहोस