पोखरा महानगरको ल्यान्डफिल साइट पोखरा ३३ मा सार्ने

पोखरा महानगरले होटल तथा बैंकको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न सम्झौता गर्ने !

पोखरा महानगरको कार्यपालिका बैठकले पोखरा महानगरको ल्यान्डफिल साइट पोखरा ३३ मा सार्ने गरी आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने भएको छ ।

त्यस्तै, काठमाडौं महानगरजस्तै पोखरा महानगरले पनि महानगर क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट, बैंक, तथा विभिन्न संघसंस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न २ पक्षीय सम्झौता गर्ने भएको छ ।

बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले एक वर्षभित्र पोखराका विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउने र त्यससम्मका लागि संघसंस्था तथा होटलको शौचालय प्रयोग गर्ने गरी सम्झौता हुने निर्णय भएको छ ।

यसैगरी पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्नका लागि सडकमा रहेका छाडा चौपाया संकलन कार्य सुरु भएको छ । पोखरा महानगरका वरिष्ट कानून अधिकृत नारायण प्रसाद शर्माले मेयर धनराज आचार्यको निर्देशन अनुसार बिहीबार देखि सडकमा देखिएका छाडा चौपाया हटाउने अभियान सुरु भएको जानकारी दिएका हुन् ।

उनले बिहीबार सेतीवारीका सडकमा रहेका छाडा चौपाया संकलन गरिएको जानकारी दिए । बिहीबार ३७ वटा छाडा चौपाया संकलन गरेर कान्जीहाउसमा राखिएको छ । यसरी संकलन गरिएका छाडा चौपाया पोखरा १४ स्थित बाच्छेबुढुवामा रहेको गौशालामा लगिनेछ । ल्याण्डफिलसाईडसंगै रहेको गौशालामा हाल १५०को हारारहारीमा छाडा चौपाया छन् । करिव ३५ रोपनी क्षेत्रफलमा चौपायाको चरन क्षेत्र र १० रोपनी क्षेत्रमा तारबार लगाएर छानाको व्यवस्थापन गरिएको छ । वरिष्ट कानुन अधिकृत शर्माले सडकमा छाडा चौपाया देखिए वडाहुँदै महानगरमा खबर गर्न समेत नगरवासीलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस