भारी मत सहीत पोखराको १५ औं मेयरमा धनराज !

पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य १५ औं मेयरमा निर्वाचित भएका छन् । त्यसैगरी उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ विजयी भएकी छिन् ।

मेयरमा आचार्यले ६ हजार ४५ मतको अन्तरले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई हराएका थिए । आचार्यले ५८ हजार ८ सय ९३ र थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका थिए ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार गुरुङले ३ हजार ८ सय ८३ मतको अन्तरले नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गरेकी थिईन् । उपमेयरमा गुरुङले ६० हजार पाँच सय ४६ मत प्राप्त गरेकी थिईन् भने कांग्रेसकी रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी थिईन् ।

यसअघि २०५४ सालको स्थानीय तहको निर्वाचनमा पोखराको मेयरमा निर्वाचित भएका थापा गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका थिए । आचार्य भने एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीबाट चुनावी मैदानमा उत्रिएका थिए । उपमेयर गुरुङ यसअघि पनि पोखरा कैं उपमेयरमा जितेर काम गरेसकेकी पात्र हुन् ।

मेयरमा उम्मेदवारी दिएका २३ जना उम्मेदवारहरुमध्ये राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ र स्वतन्त्र उम्मेदवारी दिएका अटेरी उम्मेदवार खड्कराज पौडेलले तीन हजार ३० मत प्राप्त गरेका छन् । उपमेयरमा उम्मेदवारी दिएका आठ जनामध्ये राप्रपाकी रञ्जना सेन (रञ्जु) ले पाँच हजार ५ सय ८१ प्राप्त गरेकी थिइन् । र, विवेकशील साझा पार्टीका माधव भण्डारीले २६४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस