कडा सुरक्षा घेराभित्र रहेको जिल्ला अदालत कास्कीमा चोरी !

पोखरा – वडा प्रहरी कार्यालय बैदामको गेट कैं सामु रहेको र २४ घण्टा नै प्रहरीले ड्युटी गरिरहने जिल्ला अदालत कास्कीको इजलास कक्षमा राती तोडफोड गरी महत्वपूर्ण कागजपत्रहरु चोरी भएको छ । प्रहरी कैं सुरक्षा घेरा भित्र रहेको अदालत भित्र भएको यस घटनालाई शंकास्पद रुपमा हेरिएको छ ।

अदालत नजिकै मुख्यमन्त्रीको निवास रहेको र वरपर जिल्ला प्रशासन कार्यालयदेखि सुरक्षा निकायका कार्यालयहरु रहेको अदालत परिसरमा चोरी भएको यस घटनाले कास्कीमा प्रहरी र सुरक्षा संयन्त्रलाई नै चूनौंती दिएको छ । वरपर सिसि क्यामेरा समेत राखिएको अदालत भित्र इजलासमा पुगी महत्वपूर्ण कागजपत्रहरु चोरी हुँदा समेत प्रहरीले चाल नपाउने भन्ने विषयले सुरक्षा निकाय तर्फ नैं शंकाको तीर सोझिएको छ ।

जिल्ला अदालत कास्कीको दुईवटा इजलास कक्षमा मंगलबार राति तोडफोड हुनुका साथै कागजपत्रहरु चोरी भएको छ । मंगलबार राती अदालतको १ र ६ नम्बर इजलास कक्ष तोडफोड भएको प्रहरीले जानकारी दिएको छ ।

१ नम्बर इजलास कक्षको ढोका मात्र फोरिएको अवस्था छ भने ६ नम्बर इजलास कक्ष भित्र रहेको दराज पनि फुटाईएको छ । दराज फुटाएसँगै त्यहाँ रहेका महत्वपूर्ण कागजपत्र र मिसिलहरु चोरी भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

एक नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र छ नम्बर इजलासमा देवप्रकाश योगीले मुद्दा हेर्दै आएका थिए । आज बुधबार बिहान सरसफाइ गर्न आएकी कर्मचारीले इजलास कक्षका ढोका फुटेको देखेर अन्य कर्मचारीलाई खबर गरेका थिए । प्रहरीले इजलासको ढोका फुटाउन प्रयोग गरिएको फलामको रड पनि भेटेको छ । @donnews

प्रतिक्रिया दिनुहोस