पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन २०८३ पोखरामा सम्पन्न

पोखरा । नेपाल ज्योतिष परिषद्, कास्कीको आयोजनामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन २०८३ जेष्ठ २७ गते बुधबार पोखरामा सम्पन्न भएको छ । सम्मेलनमा ज्योतिष, कर्मकाण्ड, वास्तु तथा तन्त्रशास्त्रसम्बन्धी विविध विषयमा विशेष सत्रहरू सञ्चालन गरिएका थिए ।

ज्योतिष सत्रमा नेपाल ज्योतिष परिषद्का उपमहासचिव ज्यो. घनश्याम चापागाईँ तथा सहसचिव ज्यो. गोविन्दप्रसाद दुवाडीले ज्योतिषशास्त्रलाई वैज्ञानिक आधारमा अध्ययन, अनुसन्धान र फलादेश गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । उनीहरूले वर्तमान समयमा तथ्य, तर्क र अनुसन्धानमा आधारित ज्योतिष अभ्यासको महत्व बढ्दै गएको धारणा व्यक्त गरेका थिए । उक्त सत्रको सहजीकरण ज्यो. कल्याण पन्तले गरेका थिए ।कर्मकाण्ड तथा वास्तु सत्रमा नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष ज्यो. लेखनाथ न्यौपानेले कर्मकाण्ड क्षेत्रमा देखिएका विकृति तथा वास्तुशास्त्रसम्बन्धी अन्योलताका विषयमा प्रकाश पारेका थिए । सत्रको प्रारम्भमा परिषद्का सचिव ज्यो. शिवलाल पौडेलले शुतकसम्बन्धी विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष ज्यो. केशव प्रसाद धितालले वेदान्तको महत्वबारे चर्चा गर्दै तन्त्रको गहिराइ बुझ्नुअघि वेदान्त दर्शनको अध्ययन आवश्यक रहेको बताए । उनले वैदिक सनातन परम्परा नेपाली समाजको आचार र संस्कारको आधार रहेको उल्लेख गर्दै ज्योतिष पेशालाई मर्यादित, उत्तरदायी तथा प्रेरणादायी बनाउनुपर्नेमा जोड दिएका थिए ।

यसै अवसरमा सुन झाँक्री सूर्यद्वारा स्थापित “उत्कृष्ट ज्योतिष पुस्तक सम्मान” बाट यस वर्ष ज्यो. प्रेमकुमारी गुरुङ सम्मानित भएकी थिइन् । उक्त सम्मानले ज्योतिष साहित्य तथा अनुसन्धानमूलक लेखनलाई थप प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरिएको थियो ।

सम्मेलनमा ज्योतिषशास्त्रका गहन तथा समसामयिक विषयमा सारगर्भित अन्तरक्रिया हुनुका साथै वास्तुशास्त्र, तन्त्रशास्त्र र कर्मकाण्डसम्बन्धी विषयमा विद्वानहरूबीच वृहत् छलफल भएको थियो । झण्डै दुई सयभन्दा बढी ज्योतिषी, अध्येता तथा साधकहरूको सहभागिता रहेको उक्त कार्यक्रमको सभापतित्व नेपाल ज्योतिष परिषद्, कास्कीका अध्यक्ष रामजीप्रसाद आचार्यले गरेका थिए।कार्यक्रममा स्वागत मन्तव्य नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज ज्यो. दुर्गा आचार्य दाहालले व्यक्त गरेका थिए भने सञ्चालन परिषद्का सचिव गौरव ढुङ्गानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस