पोखरा, कास्की ।नेपाल आयुर्वेद औषधि व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशन तथा साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
तेस्रो अधिवेशनबाट सपना रानाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा अप्सरा अधिकारी तिमिल्सिना, सचिवमा अनु मिश्रा र कोषाध्यक्षमा जमुना लामिछाने चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा नुरमाया राना, कपिल अधिकारी र अञ्जु पुर्वे निर्वाचित भएका छन् । साथै नवनिर्वाचित समितिले रामजीप्रसाद आचार्यलाई सल्लाहकारमा प्रस्ताव गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले आयुर्वेद नेपालको मौलिक चिकित्सा प्रणाली भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए । उनले स्थानीय रूपमा पाइने जडीबुटी तथा आयुर्वेद औषधिको व्यवस्थित प्रयोग र प्रवर्द्धनमार्फत स्वास्थ्य क्षेत्रलाई अझ सबल बनाउन सकिने उल्लेख गरे । साथै, व्यवसायलाई मर्यादित, व्यवस्थित र विश्वासिलो बनाउनु आजको आवश्यकता रहेको धारणा व्यक्त गरे ।
विशेष अतिथिहरूमा NADA केन्द्रीय सचिव कृष्ण प्रसाद तिमिल्सिना तथा डा. शंकर गौतम रहेका थिए । त्यसैगरी अतिथिहरूमा NADA गण्डकी प्रदेश अध्यक्ष डा. दीपक भुजाल, NMSRA कास्कीका सचिव हिरामणि भुजाल, डा. विवश बास्तोला र अमित न्यौपानेलगायत तिन दर्जन भन्दा बढि व्यवसायीहरु उपस्थिति रहेको थियो ।
कार्यक्रममा आयुर्वेद क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका अश्वनी कुमार ताम्राकारलाई सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता निर्वाचन कुमार श्रेष्ठले गरेका थिए भने सञ्चालन सचिव अप्सरा तिमिल्सिनाले गरेकी थिइन् । स्वागत मन्तव्य सविना रानाले व्यक्त गरेकी थिइन् ।