पोखरा।लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ एम अन्तर्गत क्रियाशील लायन्स क्लब अफ पोखरा डाउन टाउनले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तरता दिँदै आएको छ। सोही अन्तर्गत रक्तदान कार्यक्रममार्फत क्लबले समाजमा मानवसेवाको भावना अभिवृद्धि गर्न र स्वास्थ्य क्षेत्रका लागि आवश्यक रगत सङ्कलनमा योगदान पुराउने उद्देश्य राखेको क्लबका अध्यक्ष ऋषिराम सुवेदीले बताउनुभयो ।
रगत जीवनको अमूल्य उपहार हो’ भन्ने मूल नारासहित लायन्स क्लब अफ पोखरा डाउन टाउनले आज पोखरामा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका–१ हरिचोकमा आयोजित कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक्ट ३२५ एम का सेकेन्ड भाइस गभर्नर किशोर बरालले पहिलो रक्तदाता तथा क्लबका निबर्तमान अध्यक्ष रुद प्रसाद लुइँटेललाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।
त्यस्तै रक्तदान कार्यक्रमका डिस्ट्रीक्ट चिफ रजनी कोइराला क्लबका पूर्व अध्यक्ष प्रमोद लामिछाने, जनकल्याण पराजुली, हरि प्रसाद पराजुली, भानुभक्त अधिकारी, दीपक पौडेल, र शिव तिमिल्सिनालगायतले क्लबको सामाजिक उत्तरदायित्व र निरन्तरता प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर राख्न सुझाव दिनुभयो।
कार्यक्रमका अध्यक्ष तथा क्लबका अध्यक्ष ऋषिराम सुबेदीले लायन्स क्लब अफ पोखरा डाउन टाउनले स्थापना भएदेखि नै शिक्षा, स्वास्थ्य, सरसफाइ, विपद् सहयोग, वातावरण संरक्षणजस्ता क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “रक्तदान जीवनदान हो — यो कार्यक्रम हाम्रो सामाजिक प्रतिबद्धताको प्रमाण हो। आजको दिनमा ६८ युनिट रगत सङ्कलन हुनु केवल संख्या होइन, यो मानवीयता र सेवा भावको प्रतीक हो।
उहाँले आगामी दिनमा पनि क्लबले स्वास्थ्य सम्बन्धी सचेतना, विद्यालय सहयोग, र विपन्न वर्गका लागि सहयोग कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी दिनुभयो।
रक्तदान कार्यक्रमका संयोजक टेक प्रसाद सुबेदीले सम्पूर्ण रक्तदाता, प्राविधिक टोली र स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्दै रक्तदान कार्यमा सबैको सशक्त सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रम क्लबका सचिव डिल्लीराम सुबेदीले सञ्चालन गर्नुभएको थियो।
रक्तदान कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम प्रसाद अधिकारी, इन्द्रेणी एकीकृत विकास केन्द्रका उपाध्यक्ष निरज बिक्रम राणा, महासचिव बसन्त बास्तोला, गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष मोहन सुबेदी, सदस्य अनिल पौडेल, तथा पोखरा महानगरपालिका वडा नं. २४ का पूर्व अध्यक्ष ओम सुबेदीलगायतको सहभागिता रहेको थियो।

उनीहरूले रक्तदान कार्यक्रम जस्तो मानवीय कार्यमा सामुदायिक सहकार्य महत्वपूर्ण रहेको बताउँदै, यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने अभिव्यक्ति दिएका थिए।