राष्ट्रपति मादुरोलाई न्युयोर्क पुराईयो, भेनेजुएलामा नयाँ सरकार नबनुन्जेल अमेरिकाले शासन गर्ने

काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएको छ । अब भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाको नियन्त्रणमा रहेका मादुरोको फोटो सार्वजनिक गरेर मादुरो दम्पतीलाई नियन्त्रणमा लिइएको औपचारिक जानकारी दिएका थिए । ट्रुथ सोसलमा सार्वजनिक फोटोमा मादुरोको हातमा हतकडी र आँखामा कालोपट्टी बाँधेको देखिन्छ । उनले ग्रे रंगको ट्र्याकसुट लगाएको र कानमा हेडफोन राखेको देखिन्छ ।

अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी काराकास लगायतका शहरमा आक्रमण गरेको थियो । लगत्तै मादुरो दम्पतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको थियो । डेल्टा फोर्स अमेरिकी सेनाको प्रमुख आतंकवाद विरोधी इकाइ हो ।

साथै ट्रम्पले फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै भेनेजुएलामा नयाँ सरकार नबनुन्जेल अमेरिकाले शासन चलाउने बताएका छन् ।

अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मादुरो र उनकी पत्नीविरुद्ध कानुनी मुद्दा चलाइने जनाएको छ । उनीहरुमाथि लागूऔषध कारोबारलाई प्रश्रय दिएको आरोप अमेरिकाले लगाउँदै आएको छ ।

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणको रूस, चीन, कोलम्बिया लगायत देशले निन्दा गरेका छन् ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले मृतक र घाइतेको विवरण संकलन भइरहेको बताएका छन् । स्पेनी भाषामा जारी भिडियो सन्देशमा उनले यसलाई ‘भेनेजुएलामाथिको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण’ भन्दै जनतालाई एकजुट हुन आह्वान गरेका छन् । उनले भने, ‘हामीमाथि आक्रमण भयो, तर हामी झुक्ने छैनौं ।’

प्रतिक्रिया दिनुहोस