निरन्तर पत्रकाकितामा लागेका विनोद प्रसाद शर्मा ‘विनोद धौलागिरि’का दुई पुस्तक बुधबार सार्वजनिक भएका छन्। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका “लेखन र सम्पादन” तथा “लेखन कला” शीर्षकका पुस्तक राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सेफर्ड कलेज काठमाण्डौका क्याम्पस प्रमुख कविता शर्माले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो।
सेफर्ड कलेजमा आयोजित पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख सूचना आयुक्त डा. आचार्यले पत्रकारिता अध्ययनका साथै विषयगत ज्ञान, सीप र लेखन कलाको विकासका लागि पुस्तक उपयोगी हुने बताउनुभयो।
कार्यक्रममा सेफर्ड कलेजकी क्याम्पस प्रमुख कविता शर्माले पाठ्यक्रममै आधारित पुस्तक प्रकाशन हुनु खुशीको कुरा भएको प्रतिक्रिया दिनुभयो।
पुस्तकका लेखक विनोद धौलागिरिले आफूहरुले अध्ययनका क्रममा पाठ्यक्रमअनुसारका पुस्तक नपाएको अनुभव सुनाउँदै, सो अभाव पूरा गर्नका लागि पुस्तक तयार गरेको बताउनुभयो।
दुवै पुस्तक पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मिडिया टेक्नोलोजी विषयको प्रथम सेमेष्टरमा अध्यापन हुने विषयमा आधारित छन्।
वास खबर डिजिटल पत्रिकाका सम्पादक समेत रहेका विनोद धौलागिरि नेपाल पत्रकार महासंघ म्याग्दीका केन्द्रीय परिषद् सदस्य पनि हुनुहुन्छ।