यहाँ मैले क.माओ बाट अगाडी बढ्न माक्र्समा फर्क भन्दै गर्दा माओवाद अस्विकार गर्न खोजेको कदापी हैन तर हामी पछिल्लो पुस्ता वा एक्काइसौं शताब्दीको पुस्ताले माओले यस्तो भन्नू भएको थियो वा लेनिनले उस्तो भन्नू भएको थियो मात्र भनेर अन्धनक्कल गर्दा हामीले माक्र्सवादको गुदि कुरा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद छोडन पुगेका छौं । जसकारण माक्र्सवादमा वर्तमान परिस्थितिको विश्लेषण गर्ने कुरामा सिर्जनाशिलताको अभाव हुँदा विचारधारात्मक क्षेत्रमा विकास गर्न सकिरहेका छैनौं ।
माओको मृत्यु पश्चात् कुनै पनि देशमा क्रान्ती सम्पन्न हुन र गर्न सकिरहेका छैनौँ। विश्व कम्युनिस्ट आन्दोलनमै जडसुत्रवाद र संशोधनवादहरुमात्र हाबी भैरहेको अवस्था छ । जो क्रान्तिकारी शक्तिहरुलाई गम्भीर प्रकारले सोच्न बाध्य बनाइरहेको छ । यसो हुँदा वर्तमानमा कम्युनिस्ट आन्दोलनमा यसप्रकारको समस्याहरु देखिरहेका छन । विश्व कम्युनिस्ट आन्दोलनका महान नेता लेनिन र माओले माक्र्सवादको नै प्रयोग गरेर विचारहरुको विकास गर्दै क्रान्ती गरि लेनिनवाद र माओवाद भएको हो भन्ने कुरा हामीले बिर्सन पुगेका छौँ ।
हामिले मुख्यतया रसियामा भएको १०६ वर्ष अगाडि महान अक्टोबर क्रान्ति र ७४ वर्ष अगाडि चिनमा भएको नयाँ जनवादी क्रान्ती पूरा गर्दाको चरणमा द्वन्द्वात्मक तथा एतिहासिक भौतिकवादको प्रयोग गरि विकास गरिएको विचारहरुमा मात्र अल्झिन पुगेका छौं। वर्तमान समयमा कम्युनिस्ट नेता कार्यकर्ताहरुले लेनिन र माओका दर्जनौं भोलुमहरु पढेका छौं । तर हामीले माक्र्सवादी दर्शन,राजनितीक अर्थशास्त्र र बैज्ञानिक समाजवाद, माक्र्सवादी सौर्न्दर्यशास्त्र मसिनो गरेर पढन छोडेका छौं ।
हामिले द्वन्द्वात्मक तथा एतिहासिक भौतिकवाद र माक्र्सको पुँजिको खण्ड १,२,३ राम्रोसँग पढेर यसलाई बोध गर्न सकिरहेका छैनौं । जसलेगर्दा बोधको अभाव हुँदा क्रान्तिको चरणमा प्रयोग गरे पनि त्यस्को परिणाम उल्टो आई प्रतिक्रान्ती भैरहेको छ । जसकारण हामीले माक्र्सवादलाई नेपाली धरातलसँग जोडि विचारधाराहरुको विकास गर्न सकिएको छैन र माओवाद पछि अर्को वादको विकास गर्न पनि सकिरहेका छैनौं। यसो हुँदा क्रान्ति गरेर माओवादबाट अर्को वादमा विकास गर्नु छ भने अब हामी माक्र्सवादि विचारधाराको जग र स्रोत द्वन्द्वात्मक तथा एतिहासिक भौतिकवादमा फर्कन अनिवार्य छ। यसो भनिरहँदा मैले लेनिन र माओको भोलुमहरु पढ्न हुन्न भनेर कदापी भन्न खोजेको होइन। माक्र्सवादलाई अझ व्यवहारिक रुपान्तरण गर्न लेनिन र माओकै देन हो । त्यसो हुँदा लेनिन र माओको भोलुमहरु पढेर उपयोग गर्दै हाम्रो नेपाली समाजसँग जोडेर हामीले विकास पनि गर्ने हो । अहिलेको समस्या भनेको माक्र्सवादलाई राम्रो सँग बुझ्न नसक्नु हो जसकारण लेनिनले त्यसो भन्नू भएको थियो जसले गर्दा समाजवाद र सशस्त्र विद्रोह हो र माओले यसो भन्नू भएको थियो त्यसो हुँदा नयाँ जनवादी क्रान्ती र दीर्घकालीन जनयुद्ध हो भनी अल्झिरहेका छौं। जसले वर्तमान समयमा नेपालको राजनितिक कार्यदिशा वास्तवमा जनवादी क्रान्ति होकी समाजवादी क्रान्ति हो। वा यो भन्दा फरक राजनितिक कार्यदिशाको माग गरिरहेको छ ।
त्यस्तै सैन्य कार्यदिशा सशस्त्र जनविद्रोह होकि दीर्घकालीन जनयुद्ध हो । यो भन्दा भिन्न नेपाली समाजले फरक अर्को सैन्य कार्यदिशाको माग गरिरहेको छ । यो खोज र अनुसन्धानको विषय छ तर पनि हाम्रो प्रयास सदैव माक्र्सवादलाई बुझेर सही वर्ग विश्लेषण गरेर वस्तुवादी राजनीतिक र सैन्य कार्यदिशा बनाउन प्रयत्न गर्नु हो। यसको लागि नै अब हामीले माओवाद बाट अब अगाडी बढेर वादको विकास गर्ने हो भने हामीले माओलाई माओवाद बनाउने मुल माक्र्सवादमा फर्कनु पर्छ।अन्तिममा क. माओ बाट माक्र्समा फर्क अनि रसिया र चिनबाट नेपालमा फर्क।
लेखक गगन परियार क. आलोक अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य हुन् ।