वैज्ञानिक समाजवादका लागि क्रान्ति : बिप्लव

पुर्व माके र एमालेका नेताहरुले हाम्रो क्रान्तिबारे बेलाबेला प्रश्न गरेको सुनिन्छ, केको लागि क्रान्ति ? कस्का विरुद्ध सशस्त्र क्रान्ति र युद्ध ? लोकतन्त्र आइसकेपछि पनि सशस्त्र युद्ध गर्ने ? उनीहरुका भनाइले यस्तो छनक दिन्छन् मानिलिँउ नेपालमा जनताले पाउँने जति अधिकार पाइसके, हुने जति राजनैतिक परिवर्तन भइसक्यो, जनताको राज्य बनिसक्यो, अब क्रान्ति गर्ने भन्ने सवाल नै छैन ।

निश्चय पनि वर्ग समाज, वर्ग संघर्ष र वर्ग सत्ताको अवधिभरी यो प्रश्न उठ्ने नै हुन्छ । खासगरी सत्तासीन वर्गले विद्रोह र विद्रोही शक्तिबारे यस्तो प्रश्न गर्छ । हरेक राजनैतिक परिवर्तनपछि एउटा वर्ग सत्तासीन बन्छ र उसले अन्य वर्गका विद्रोहलाई अनावश्यक देख्छ । उसले आफ्नो वर्गको प्रतिनिधित्व गर्ने सर्वोच्च संस्था विरुद्धको विद्रोहलाई अपराध देख्छ र सक्दो दमन गर्ने प्रयत्न पनि गर्छ ।

जव श्रमिक वर्गले पुँजीवादी या दलाल पुँजीवादी सत्ताका विरुद्ध विद्रोह गर्छन तव यो वर्ग र सत्ताले श्रमिक जनता र कम्युनिष्टहरुलाई उग्रवादी, हिंसावादी, आतंकवादीको आरोप लगाउँछ । कारण उही दोहरिन्छ कि दलाल पुँजीवादी सत्ताले दलाल पुँजीवादी वर्गको हित रक्षा गर्छ, यदि उसको सत्ता ढल्यो भने दलाल वर्गको स्वार्थ ध्वस्त हुन्छ ।

सामन्ती सत्ता चलेको अवस्थामा सामन्तीवर्ग र उससँग सत्तामा साझेदारी गर्ने सहयोगी वर्गहरु(नोकरशाह, दलाल, सुधारवादी आदी)ले कुनै पनि विद्रोह र विद्रोही शक्तिलाई बेठीक, उग्रवादी, हिंसावादी, आतंकवादी देख्छन्, त्यही प्रचार गर्छन र सक्दो दमनको प्रयत्न गर्छन । सामन्तवर्गले यो भन्नु किन स्वभाविक हुन्छ भने उसले हार्यो भने उसको वर्गस्वार्थको सबैभन्दा मुख्य साधन गुमाउने हुन्छ । सत्ता गुम्दा वर्गले सत्ताबाट प्राप्त गर्ने सारा सुखभोगहरु समाप्त हुन्छन् । एकप्रकारले वर्ग नै समाप्त हुने हुन्छ । सामन्तवादी कालमा यस्तो आरोपको प्रहारमा पुँजीवादीवर्ग र पुँजीवादी पार्टीहरु पनि पर्छन ।कम्युनिष्टहरु त पर्ने नै भए । नेपालमा समान्ती सत्ता रहँदासम्म उसका विरुद्ध विद्रोह गर्ने नेपाली काग्रेसको सङ्घर्ष, विद्रोह पनि उग्रवादी, हिंसावाद, आतंकवादी मानिन्थ्यो र काङ्ग्रेसहरु अपराधीमा दरिन्थे ।

सामन्तवर्गका विरुद्ध विद्रोह या क्रान्ति सफल भएपछि त्यसको ठाउँमा या पुँजीवादी—दलाल पुँजीवादीवर्ग पुग्छ या श्रमिकवर्ग पुग्छ । सामन्ती सत्ताको ठाउँ पुँजीपति—दलाल पुँजीपतिवर्गले लियो भने श्रमिक वर्गले पुँजीवादी सत्ताको शोषण, उत्पीडन, दमन विरुद्ध विद्रोह गर्छन र पुँजीवादी सत्ताको ठाउँमा नयाँ जनवाद या वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न जोड दिन्छन् । किनकि सामन्तीवर्ग र दलाल पुँजीवादी वर्ग दुवै वर्ग चरित्रका दृष्टिले श्रमिक जनतामाथि शोषण, लुट, उत्पीडन, दमन गर्ने वर्ग हुन । जव श्रमिक वर्गले पुँजीवादी या दलाल पुँजीवादी सत्ताका विरुद्ध विद्रोह गर्छन तव यो वर्ग र सत्ताले श्रमिक जनता र कम्युनिष्टहरुलाई उग्रवादी, हिंसावादी, आतंकवादीको आरोप लगाउँछ । कारण उही दोहरिन्छ कि दलाल पुँजीवादी सत्ताले दलाल पुँजीवादी वर्गको हित रक्षा गर्छ, यदि उसको सत्ता ढल्यो भने दलाल वर्गको स्वार्थ ध्वस्त हुन्छ । नेपालमा सामन्ती तथा दलाल पुँजीवादी सत्ता रहँदा उसका विरुद्ध उठेका श्रमिक जनताका विद्रोहलाई उनीहरुले उग्रवादी, हिंसावदी, आतंकवादीको आरोप लगाए । माओवादीका विरुद्ध त सामन्ती तथा दलाल पुँजीवादी संसदीय सत्ताले आतंकवादीको आरोप थोपर्दै संकटकाल नै लगायो । सत्ताको प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेस, एमालेसम्मले माओवादीका विरुद्ध यो आरोप थोपरेका थिए । उनीहरुले प्रचण्ड—बाबुराम—बादलहरुको टाउको काट्नेसम्मको आदेश दिएका थिए ।
पुँजीवादी सत्ता ढलेर नयाँ जनवादी—वैज्ञानिक समाजवाद सत्ता स्थापना भयो भने मानव जातिले आजसम्मकै उच्च जनवादी एवं वैज्ञानिक राज्य सत्ता प्राप्त गर्छ । वैज्ञानिक समाजवादले आजसम्म समाजमा एकवर्गले अर्को वर्गमाथि थोपरेका या लादेका सबै शोषण, विभेद, उत्पीडनको अन्त्य गर्दै जाने भएकोले साथै श्रमिकवर्गभन्दा अर्को प्रगतिशीलवर्ग नआइसकेको हुनाले सत्ताका विरुद्ध न्यायपूर्ण विद्रोहको सान्दर्भिकता समाप्त हुन्छ । वैज्ञानिक समाजवादी सत्ता र कम्युनिष्ट पार्टीभित्र पैदा हुने विचलन, विकृति र पतनका विरुद्ध श्रमिकवर्गको विद्रोह आवश्यक हुने भएपनि वास्तविक वैज्ञानिक समाजवादी सत्ताका विरुद्ध विद्रोहको आवश्यकता नै रहँदैन । तर त्यसवेला सत्ता हारेका, आफ्नो वर्ग अस्तित्व गुमाउन खोजेका पुँजीवादी—दलाल पूँजीवावदीवर्गले भने वैज्ञानिक समाजवादी सत्ताका विरुद्ध प्रतिक्रान्ति गर्ने प्रयत्न गर्छन् । ती विद्रोह या प्रतिक्रान्ति भने गलत र हानिकारक विद्रोह हुन्छन् । नेपालमा माओवादी जनयुद्धले विजय हासिल गरेको हुन्थ्यो र श्रमिकवर्गको हातमा सत्ता आएको हुन्थ्यो भने पक्कै पनि क्रान्तिकारी विद्रोहको आवश्यकता(वैज्ञानिक समाजवादी सत्तामा विचलन र पतन नभएसम्म) सकिन्थ्यो । जनयुद्धको सफलताले यसको सन्निकट पनि पु¥याएको थियो । सबैले मानेका थिए कि नेपालको ८०प्रतिशत भूभागमा माओवादी सत्ताको प्रभाव विस्तार भएको थियो ।

केपी सरकारका फासिवाद, राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसनखोरीबाट आम जनता स्पष्ट भएका छन् कि यो सत्ता र सरकार जनताको होइन, दलाल, सुदखोर, भ्रष्ट र तस्करहरुको सत्ता हो ।

सामन्ती तथा दलाल पुँजीवादी सत्ताको अन्त्य र नयाँ जनवाद—वैज्ञानिक सत्ताको स्थापनाका लागि माओवादी शान्ति प्रकृयामा भागलिएको थियो । जनताले सत्ता परिवर्तनका पक्षमा पूर्णसाथ दिएको अवस्था पनि थियो । यसमा राष्ट्रिय पुँजीपति र उच्चतहका कर्मचारीसमेतले अपेक्षा गरेको एउटा सन्दर्भ निकै मार्मिक छ । उनीहरुले भनेका थिए “यति ठूलो बलिदान गरेर, दुःख कष्ट गरेर आएको माओवादीले देशको नेतृत्व सही तरिकाले गर्छ भने साथ दिउ भन्ने थियो, माओवादी नेतृत्वले नै खुट्टा टेकेन ।” वास्तवमै जुन हाउदाउसहित माओवादी नेतृत्व मैदानमा उत्रिएको थियो जव साँच्चैको टक्कर पैदा भयो र निर्भिकतापूर्वक नेतृत्व गर्नु पर्ने भयो, बलिदान गर्न तयार छु भन्ने नेतृत्व त मैदानमै नपसेर मैदान खालि गरिदियो । दलाल पुँजीपतिवर्गसँग अपमानजनक सम्झौतामा बग्दै घोर आत्मसमर्पण गर्न पुग्यो । जसको परिणाम नेपालमा दलाल पुँजीपतिवर्गले सत्ता हत्याउन सफल भयो । त्यसले नेपालमा कम्युनिष्टहरुको नेतृत्वमा श्रमिक वर्गीय सत्ता निर्माण गर्ने प्रबल सम्भावनालाई अस्थायी समयका लागि रोकिदियो । विश्वभरका कम्युनिष्टहरुले प्रचण्ड—बाबुराम—बादलहरुको आत्मसमर्पणलाई कम्युनिष्ट आन्दोलनमा देखापरेको नयाँ धोका गद्दारी भनेर भण्डाफोर गरे । तर प्रचण्ड—बाबुरामहरुले आफूलाई श्रमिकवर्ग र कम्युनिष्ट पार्टीको नेतृत्वबाट विघटित गर्दै स्वयंलाई दलाल पुँजीपतिवर्गको प्रतिनिधिमा बदल्न पुगे । तत्पश्चात हामीले उनीहरुसँग विद्रोह गर्दै कम्युनिष्ट पार्टीको पुर्नःगठन गर्यौं र नेपाली क्रान्तिलाई एकीकृत जनक्रान्तिमा संश्लेषण गर्दै श्रमिक जनताको विद्रोहलाई नयाँ उचाईबाट निरन्तरता दियौं । केपी—प्रचण्ड—बादलहरु इतिबेला दलाल पुँजीवादी सत्ताको महिमागान गर्दै यसको रक्षा गर्नेमा कम्मर कसेर लागेका छन् । उनीहरुले हाम्रो विद्रोह अर्थात एकीकृत जनक्रान्तिलाई उग्रवादी, हिंसावादी भन्दै नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएका छन् ।

नेपालमा अहिले लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था छ । यो भनेको पुँजीवादी(सारमा दलाल पुँजीवादी) गणतन्त्र र संसदीय व्यवस्था हो । यसको नेतृत्व दलाल पुँजीपतिवर्गले गरिरहेको छ । आजको सरकारले दलाल पुँजीपतिवर्गको संरक्षण गरिरहेको छ । यस सत्ता र सरकारबाट श्रमिक जनताहरु विशेषतः किसान, मजदूर, युवा, महिला, दलित, जनजाति, मधेशीहरु उत्पीडित, शोषित र दमित छन् । हाम्रो पार्टीले सुरुमा यो कुरा बताएर विद्रोह गर्दा केहीलाई अस्पष्टता रहेपनि आज आउँदा केपी सरकारका फासिवाद, राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसनखोरीबाट आम जनता स्पष्ट भएका छन् कि यो सत्ता र सरकार जनताको होइन, दलाल, सुदखोर, भ्रष्ट र तस्करहरुको सत्ता हो । यतिकुरा स्पष्ट भएपछि केपी—प्रचण्ड र उनीहरुका चेलाहरुले उठाउने गरेको विद्रोह, सशस्त्र संघर्ष केका लागि, कस्का विरुद्ध क्रान्ति ? भन्ने प्रश्नको उत्तर सहज भेटाउन सकिन्छ ।

तथापी हामीले भन्नु पर्छ यदि यी प्रश्न सत्ता कब्जा गर्न सफल दलाल पूँजीपतिवर्ग र उनीहरुका असली प्रतिनिधि पार्टीहरुले उठाउँछन् भने स्वभाविक मान्नु पर्दछ । यतिकि नेपाली काँङ्ग्रेस लगायतका पार्टीले उठाउँदा पनि अनौंठो लाग्दैन । किनकि उनीहरुले खुलेआम पुँजीवादी संसदीय व्यवस्थाको नेतृत्व गर्छन, पुँजीवादी गणतन्त्रलाई अन्तिम सत्य र वैज्ञानिक समाजवाद अनावश्यक ठान्छन् । दलाल पुँजीवादी सत्ता गयो भने उनीहरुको पराजय हुन्छ र उनीहरुको वर्ग संकटमा पर्छ । यहाँ क्रान्तिकारीहरुका लागि अनौंठो नभएपनि जनताले अस्वभाविक मान्ने कुरा प्रचण्ड र उनका चेलाहरुले क्रान्ति, सशस्त्र संघर्ष केका लागि ? कस्का विरुद्ध ? भन्ने प्रश्न गर्दा भएको छ ।

एकीकृत जनक्रान्तिलाई प्रचण्डहरुले केका लागि ? कस्का विरुद्ध ? भनेर गर्ने प्रश्नलाई राम्रोसँग बुझ्नका लागि दुई सन्दर्भलाई उल्लेख गर्नु उपयुक्त हुन्छ । पहिलो कम्युनिष्ट पार्टी र यसले नेतृत्व गर्ने राजनैतिक व्यवस्थाको सैद्धान्तिक मान्यता दोस्रो माओवादी पार्टीले जनयुद्धमा प्रवेश गर्दा प्रस्तुत गरेका सैद्धान्तिक, राजनैतिक दृष्टिकोण ।
राजनीतिमा सामान्य ज्ञान राख्नेले पनि बुझेको हुनुपर्छ कि कम्युनिष्ट सिद्धान्त, विचार, राजनीति र पार्टीको जन्म नै शोषणकारी एवं लुटाहा पुँजीवादी—दलाल पुँजीवादी राजनैतिक सत्ताका विरुद्ध भएको हो । पुँजीवादी सत्ताबाट उत्पीडित मजदूर—किसान र उत्पीडित जातिको मुक्तिका लागि भएको हो । संसदीय व्यवस्थालाई मिल्काउन र त्यसको ठाउँमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नका लागि भएको हो । माक्र्स स्वंय लेख्नु हुन्छ “ जुन हतियारद्वारा बुर्जुवावर्गले सामन्तवादलाई ढालेको थियो त्यो अहिले स्वयम् बुर्जुवावर्गको विरुद्ध मोडिएको छ । किन्तु बुर्जुवावर्गले त्यस्तो साधनको मात्रै निर्माण गरेको होइन जसले उसको अन्त्य गर्नेछ । उसले त्यस्ता मानिसहरु पनि उत्पन्न गरेका छन् जसले उसको विरुद्ध यस हतियारको प्रयोग गर्नेछन् । तीहुन—आजका मजदूरहरु , सर्बहाराहरु । (माक्र्स—एङ्गेल्स रचना १, कम्युनिष्ट घोषणापत्र पेज ५५)

त्यसैगरी लेनिन र माओले भन्नु भयो “सर्वहारावर्गका लागि सत्ताबाहेक सबै थोक भ्रम हो ।”
नेपालमा कम्युनिष्ट पार्टी बनाउनुको मुख्य लक्ष्य नै यहाँको सामन्ती तथा दलाल पुँजीवादी सत्तालाई मिल्काउन र नयाँ जनवादी—वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नका लागि भएको हो । त्यसैगरी जति पनि कम्युनिष्ट विद्रोहहरु भए ति पनि मजदूर—किसान, उत्पीडित जाति, दलित, महिला मुक्ति र उनीहरुको सत्ताका लागि भएका हुन । चाहे भिमदत्तको होस, चाहे हर्रेबर्रे होस, जुगेडी, जुटपानी किसान विद्रोह होस, झापा विद्रोह होस चाहे दश बर्षे जनयुद्ध होस सबै विद्रोहहरु स्पष्टतः सामन्ती—दलाल पुँजीवादी सत्ताका विरुद्ध र नयाँ जनवादी—वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि भएका हुन । त्यसमध्ये पनि विजय नजिक पुगेको जनयुद्धको लक्ष्य स्पष्टतः घोषित थियो “संसदीय व्यवस्थाको भ्रममा नपरौं नयाँ जनवादी क्रान्तिको तयारी गरौं” “सामन्ती तथ दलाल पुँजीवादी सत्तालाई बलपूर्वक ध्वस्त पारेर नयाँ जनवादी सत्ताको स्थापना गरौं ।” यही लक्ष्य अनुरुप जनयुद्धले जनसत्ता, जनसेना, जनअदालत, जनप्रशासन, शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, यातायात आदि निर्माण गर्दै लगेको थियो । कम्युनिष्ट विद्रोह र जनयुद्धमा जति पनि नेता कार्यकर्ताहरुले आफ्नो रगत बगाए, वेपत्ता भए, जेलनेल झेले नयाँ जनवादी—वैज्ञानिक समाजवादी सत्ताकै लागि थिए । आज नेपाल कम्युनिष्ट पार्टीले अगाडि बढाइरहेको एकीकृत जनक्रान्ति स्पष्टतः दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापनाका लागि हो ।

प्रचण्डले बारम्बार आफू दोषी ठहरिए जेल जान तयार भएको, आफूलाई कस्ले न्याय दिने भन्दै एउटा निरिह अभियुक्त जसरी विलाप गरिरहेका हुन्छन् । घनस्याम भुसाल लगायतले त सत्ता दलाल पुँजपतिवर्गको छ भन्ने गर्छन । फेरी पनि यस्तो प्रश्न किन ?

विषय यति स्पष्ट हुँदाहुँदै कुनै समय विद्रोहमा सहभागि भएका केपी—प्रचण्ड र उनीहरुका मान्छेहरुले नै हाम्रो पार्टीले अगाडि बढाएको एकीकृत जनक्रान्तिलाई केका लागि र कसका विरुद्ध ? भन्ने प्रश्न गर्नु हदैलाजलाग्दो, बेइमानीपूर्ण र षडयन्त्रपूर्ण प्रश्न हो । यसप्रति आम मजदूर—किसान, उत्पीडित जाति, महिला, दलित वर्ग र समुदायले सचेत रहनु पर्छ ।
हुनतः यो कुरा एमाले—माके(सरकारी नेकपा)का नेताहरुलाई थाहा छैन भन्ने होइन तर नेपालमा दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था हँुदाहुँदै उनीहरुले किन यस्तो तर्क र प्रचार चलाईरहेका छन् त ? जवकि प्रधानमन्त्री कहलिएर हामीमाथि प्रतिबन्ध लागाउने केपी वलीले नै रुदै भनेको सुनिन्छ मेरो सरकारले गरेको कामको प्रचार गरिदिने टीभी, रेडियो र संचार माध्यमहरु नै छैनन् । लेखिदिने मुटु भएका सम्पादकहरु नै छैनन् । प्रचण्डले बारम्बार आफू दोषी ठहरिए जेल जान तयार भएको, आफूलाई कस्ले न्याय दिने भन्दै एउटा निरिह अभियुक्त जसरी विलाप गरिरहेका हुन्छन् । घनस्याम भुसाल लगायतले त सत्ता दलाल पुँजपतिवर्गको छ भन्ने गर्छन । फेरी पनि यस्तो प्रश्न किन ?

जानाजान यस्ता प्रश्नहरु गर्नु भनेको दुईवटा कारण देखिन्छन् । पहिलो केपी—प्रचण्डहरु शान्ति प्रकृयापछि कम्युनिष्ट सिद्धान्त, विचार, राजनीति, आदर्शबाट चुत, पतित, भ्रष्ट भएका छन् । उनीहरु कम्युनिष्ट नेताबाट दलाल पुँजीपति, नव अभिजातवर्गमा फेरिएका छन् र आफू जनविरोधी वर्गमा बदलिएपछि क्रान्तिका विरुद्ध विष वमन गरिरहेका छन् । दोस्रो उनीहरुले नेपाली जनतालाई हदैसम्मका अज्ञानी, अबुझ र मूर्ख ठानेर भ्रमित गर्ने र उनीहरुमाथि शासन, शोषण गर्ने सोचेका छन् । जुनसुकै कारणले भएपनि उनीहरुले गरिरहेको क्रान्ति विरोधी प्रचारले स्पष्ट गर्छ आजको कम्युनिष्ट क्रान्तिले पूर्व एमाले—माकेभित्रका दलाल, नवधनाढ्यवर्ग(त्यो पार्टीमा लागेका इमान्दारलाई होइन)लाई समाप्त पार्दै छ । उनीहरु समाजिक दलाल पुँजीपतिवर्गमा बदलिएपछि आफ्नो रक्षा दलाल पुँजीवादी सत्ताबाट देखिरहेका छन् । दलाल पुँजीवादी विरुद्ध बढेको एकीकृत जनक्रान्तिले उनीहरुको स्वार्थ रक्षा गरिदिने सत्ता समाप्त पार्ने भएपछि उनीहरुको वर्ग पनि संकटमा परेको हो । यसैको अभिव्यक्ति नै वैज्ञानिक समाजवादका लागि बढिरहेको एकीकृत जनक्रान्तिलाई केका लागि, कस्का विरुद्ध ? भन्ने प्रश्न हो । बिडम्बना प्रश्न यति फिका प¥यो कि प्रश्नकर्ताहरु विद्रोही जनताको कठ्घरामा खडाभएर गम्भीर अपराध ओकलिरहेको महसुस हुन्छ ।

प्रतिक्रिया दिनुहोस