मादी गांउपालिकाको सिल्दुजुरे अस्थायी प्रहरी चौकीको स्थानान्तरण

स्थानीयसँग भेटघाट तथा परिचय कार्यक्रम सम्पन्न

कास्की । मादी गाउँपालिका–७ तल्लोछाचोकमा रहेको सिल्दुजुरे अस्थायी प्रहरी चौकीको भवन जीर्ण अवस्थामा पुगेपछि चौकीलाई साविक सिल्दुजुरे गाविस भवनमा स्थानान्तरण गरिएको छ।

कास्की जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको स्थलगत अनुगमनपछि मादी गाउँपालिका र वडा नं. ७ कार्यालयको समन्वयमा सिल्दुडाँडास्थित साविक गाविस भवनलाई प्रहरी चौकी सञ्चालनका लागि प्रयोगमा ल्याइएको हो।
सिल्दुजुरे अस्थायी प्रहरी चौकीको कार्यक्षेत्र मादी गाउँपालिका वडा नं. १, २, ६ र ७ रहेको छ। चौकी स्थानान्तरण कार्यक्रम तथा स्थानीयसँग भेटघाट एवं परिचय कार्यक्रम प्रहरी चौकी प्रमुख दिपक रानाको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ प्रमुख अतिथि तथा रामबजार प्रहरी चौकीका प्रमुख विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी वडा नं. ६ का वडा अध्यक्ष डिलबहादुर क्षेत्री, वडा नं. ७ का पूर्व वडा अध्यक्ष लालबहादुर गुरुङ, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, होटल व्यवसायी, स्थानीय बुद्धिजीवी, युवा क्लब तथा आमा समूहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवीजंग गुरुङले शान्ति सुरक्षा सुदृढीकरणका लागि प्रहरी चौकीको व्यवस्थित सञ्चालन आवश्यक रहेको बताउनुभयो। उहाँले सार्वजनिक भवनको पुनः प्रयोग सकारात्मक कदम भएको उल्लेख गर्दै स्थानीय समुदाय र प्रहरीबीचको सहकार्य अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो। साथै सिल्दुजुरे अस्थायी प्रहरी चौकीलाई दरबन्दीसहितको स्थायी प्रहरी चौकीका रूपमा स्तरोन्नति गर्न गाउँपालिकाले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशेष अतिथि रामबजार प्रहरी चौकीका प्रमुखले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहने धारणा राख्नुभयो।

कार्यक्रममा सहभागी स्थानीयवासी तथा जनप्रतिनिधिहरूले प्रहरी चौकी स्थानान्तरणसँगै सेवा प्रवाह थप सहज, प्रभावकारी र पहुँचयोग्य हुने विश्वास व्यक्त गरेका थिए।

लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको साविक सिल्दुजुरे गाविस भवन प्रहरी चौकी सञ्चालनमा आएसँगै पुनः उपयोगमा आएको छ। यसले सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा सदुपयोगमा महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीयवासीको भनाइ छ।
सिक्लेस क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य भएकाले काहुँखोला–सिक्लेस सडकखण्डमा आन्तरिक तथा बाह्य पर्यटकहरूको अत्यधिक आवागमन हुने गर्दछ। यस क्षेत्रमा हुन सक्ने दुर्घटना, विपद् तथा आपराधिक घटनामा सुरक्षा निकाय समयमै परिचालन भई प्रभावकारी सेवा प्रवाह गर्न सक्ने वातावरण सिर्जना भएको वडा नं. ७ का अध्यक्ष दुर्गा बहादुर गुरुङले बताउनुभयो।

त्यसैगरी वडा नं. ६ का अध्यक्ष डिलबहादुर क्षेत्रीले प्रहरी चौकीको स्थानान्तरणले स्थानीय बासिन्दामा सुरक्षा अनुभूति बढ्नुका साथै पर्यटक तथा यात्रुहरूको सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस