कुवेतलाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा विजयी सुरुवात गरेको छ।
बुधबार राति भएको समूह चरणको पहिलो खेलमा नेपालले कुवेतमाथि ५८ रनको फराकिलो जित निकालेको हो।
जितसँगै नेपालले अंक तालिकामा महत्त्वपूर्ण २ अंक जोड्दै शीर्ष स्थानमा छ। नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रन बनाउँदा अलआउट भयो।
नेपाल रहेको समूह ‘बी’मा कुवेत र जापान पनि छन्। समूह ‘ए’मा मलेसिया, कतार र यूएई छन्। समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।
यो छनोटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। यीमध्ये हरेक समूहका शीर्ष दुई टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन्।
समूह चरणको दोस्रो खेलमा नेपालले शुक्रबार जापानविरुद्ध खेल्ने तालिका छ।