भदौ २३-२४ गतेको जेन-जी आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएका छन्। कति आन्दोलनकारीको मृत्यु भयो भन्ने यकिन नभए पनि सरकारको तथ्यांक अनुसार हालसम्म ७२ जनाले ज्यान गुमाएको पुष्टि भएको हो।
आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएपछि आक्रोशित भिडले भौतिक सम्पत्ति तोडफोडसहित आगो लगाउँदा क्षति भएको हो।
आन्दोलनको पहिलो दिन भदौ २३ गते प्रहरीले चलाएको गोली लागेर घटनास्थल र अस्पतालमा गरी १९ जनाको ज्यान गएको थियो। भोलिपल्ट २४ गते आन्दोलनकारीका नाममा सरकारी र निजी भौतिक संरचना तथा सवारीसाधनमा तोडफोड र आगो लगाइएको थियो। यसक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारसहितका सरकारी भवनमा आगो लगाइयो।
सिंहदरबारमा आगो लगाइएपछि जनमानसमा नेपालको चुच्चे नक्सा जोगियो कि जोगिएन भन्ने जिज्ञासा पैदा भएको छ? त्यो जलेर खरानी भयो कि बाँकी होला? चुच्चे नक्सा केवल कागजमा बनेको सिमांकन मात्र होइन, यो नेपाली सार्वभौमसत्ता, स्वाभिमान र राष्ट्रिय पहिचानको प्रतीक पनि भएकाले सर्वसाधारणमा कौतुहलता पैदा भएको हो।
२०७७ सालमा नेपाल सरकारले सार्वजनिक गरेको उक्त नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई स्पष्ट रूपमा नेपालको भूभागका रूपमा देखाइएको छ। भारतले यसलाई स्वीकार गरेको छैन। यो नक्सा सुरक्षित होस् भन्ने नेपालीको कामना छ।