चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले पोखरालाई आफ्नो हब छेन्दु हुँदै अष्ट्रेलियासम्म जोड्ने गरी उडान सुरु गर्ने तयारी थालेको छ।पोखरेलीहरुमा यसले आशा जगाएको छ
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार, सिचुवान एयरलाइन्सले उक्त गन्तव्यमा उडानका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ र दुई पक्षबीच औपचारिक छलफल जारी छ। यो वायुसेवा पोखरा विमानस्थलको सञ्चालन र वातावरणसँग परिचित भइसकेको छ। यसअघि २०८० असारमा ‘नेपाल-चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ को अवसरमा यसले पूर्ण क्षमतामा यात्रुसहित चार्टर उडान सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
नेपाल वायुसेवा निगमले प्रदान गर्ने ग्राउण्ड ह्याण्डलिङ सेवामा ७५ प्रतिशत छुटको व्यवस्था छ भने हवाई इन्धनको मूल्य पनि काठमाडौंको तुलनामा प्रतिलिटर करिब २०० डलरसम्म सस्तो पारिएको छ। यी सुविधाहरूले लामो समयदेखि अन्तर्राष्ट्रिय उडान हुन नसकेको गुनासो खेपिरहेका यी दुई विमानस्थलको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ