कुनैबेला मित्रराष्ट्र रहेका इरान र इजरायल,किन बारम्बार युद्धमा होमिदैछन ?

कुनैबेला अटोमन साम्राज्य अन्तरगत पर्ने इरान र इजरायल क्षेत्र,अटोमन साम्राज्यको अन्त्य पछि भएको प्रथम र दोस्रो विश्वयुद्ध पछि छुट्टाछुट्टै राज्यको रुपमा अस्तित्व छन।राज्य निर्माणको सुरुवातमा यि दुबै राज्य मध्यपुर्वी क्षेत्रमा शान्तिपुर्ण तथा मैत्रीपुर्ण सम्बन्धमा थिए।इरान र इजरायल कुनै समय पश्चिम एसियामा सबैभन्दा नजिकका मित्र थिए । कतिसम्म भने इजरायललाई छुट्टै राष्ट्रको मान्यता दिने इरान दोस्रो मुलुक हो ।

तर सन् १९७९ मा इरानमा आन्दोलनपछि नयाँ व्यवस्था आयो । योसँगै दुई देशबीचको सम्बन्धमा दरार सुरु भयो ।सन् १९७९ अघि इरानमा पहल्भी शाह राजाहरूको शासन थियो । त्यसबेला अमेरिका र शाह राजाहरूबीच पनि राम्रो सम्बन्ध थियो । इजरायलले इरानलाई प्रविधिलगायतका क्षेत्रमा सहयोग गर्थ्यो भने इरानले इजरायलमा इन्धन पठाउँथ्यो ।

सन् १९७८–७९ को इरानामा राजा हटाउने आन्दोलन सुरु भयो । राजसंस्थाको अन्त्यसँगै आयतोल्लाह रुहोल्लाह खोमेनीको नेतृत्वमा इरान गणतन्त्र आयो । खोमेनीले मुस्लिम धर्मलाई केन्द्रमा राखेर शासन व्यवस्था अघि बढाए । यसपछि इरानको इजरायलसँगको तनाव सुरु हुँदै गयो । त्यसपछि खोमेनी नेतृत्वको इरान र अमेरिकाबीचको सम्बन्ध पनि राम्रो भएन । इजरायल र अमेरिका घनिष्ठ साथी भएकै कारण इरान र इजरायल दुस्मन बन्न पुगे । सन् २०२० मा इराकको राजधानी बग्दादमा इरानका मेजर जर्नेल कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरेर मारेपछि पश्चिम एसियामा लगातार रूपमा अमेरिकी खेमा र इरानी खेमाबीचको द्वन्द्व जारी छ।

यसअघि इरानी नेताहरूले सार्वजनिकरूपमै इजरायललाई विश्व मानचित्रबाट नामेट पार्ने धारणा राख्दै आएका थिए । यस्तो भनाइलाई इजरायली पक्षाहरुले आफूहरुमाथि आक्रमण हुनसक्ने र त्यसैका निम्ती इरानले आणविक बम बनाउन काम गरिरहेको बताउँदै आएका थिए । इरानले पछिल्लो समय नातान्जमा ठूलो परिणाममा युरेनियम प्रशोधन गर्दै आएको थियो । यसले पनि इजरायललाई झस्काएको थियो ।

इजरायल र इरानबीच यसअघि पनि स–साना द्वन्द्व नभएका होइनन् । गत अक्टोबरमा इजरायलले साइबर आक्रमण गरेर इरानको हवाई रक्षा प्रणाली क्षतिग्रस्त बनाएको थियो ।

सन २०२४ को अप्रिलमा इरानले इजरायलमाथि तीन सयभन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो । दुई देशबीच यस्ता स–साना द्वन्द्वका घटना कैयन् पटक भइसकेका थिए । अहिले भने यी दुईबीच अहिलेसम्मकै ठूलो द्वन्द्व सुरु भयो ।

गत शुक्रबारदेखि सुरु भएको इरान-इजरायल युद्ध तत्काल शान्त हुने देखिन्न । बरु दुवै देशले एक अर्काविरुद्ध मिसाइल आक्रमण जारी राखेका छन् । अनि युद्धको यो नयाँ स्वरुपले विश्वभर आर्थिक र राजनीतिक संकट थप चुलिने चिन्ता बढेको छ ।

(विभिन्न ऐजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस