कास्कीको मादी गाउँपालिका वडा नं. १ मा रहेको सिक्लेस आमा समूहले ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा विविध सांस्कृतिक कार्यक्रमका साथ मनाएको छ।
कार्यक्रममा सिक्लेसका विभिन्न टोलमा रहेका आमा समूहहरू—सभाथर आमा समूह, सभाथर दलित आमा समूह, कोइथर आमा समूह, गैरीथर आमा समूह, गैरीथर दलित आमा समूह, धप्राङथर आमा समूह, धप्राङथर दलित आमा समूह, हर्पुथर आमा समूह, हर्पुथर दलित आमा समूह तथा लामाथर आमा समूहले विभिन्न विधामा गीत तथा नृत्य प्रस्तुत गरेका थिए। प्रस्तुत गीतहरूमा विशेष गरी नारी हिंसा तथा महिलाले भोग्दै आएका पीडाका विषयलाई समेट्दै सशक्त सन्देश दिइएको थियो।
कार्यक्रममा बोल्दै शिक्षक हिमा गुरुङले शैक्षिक स्तर कमजोर भएका कारण महिलाहरू समाजमा माथि उठ्न नसकेको धारणा व्यक्त गरेकी थिइन। अन्नपूर्ण माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक गेहेन्द्र गुरुङले महिलामाथि हुने हिंसा अझै पनि पूर्ण रूपमा रोक्न नसकिएको बताउँदै हिंसा अन्त्यका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिएकी थिइन।
विशेष अतिथि वडा नं. १ का अध्यक्ष देबिजंग गुरुङले महिला सशक्तिकरण र महिलाको क्षमता विकासका लागि वडाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई साथ दिने बताउए। प्रमुख अतिथि अधिवक्ता कृष्णकुमारी गुरुङले सिक्लेस आमा समूहलाई कानुनी रूपमा पर्ने जटिलतामा आफूले निःशुल्क सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन।
आमा समूहकी उपाध्यक्ष नौमाया गुरुङले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिन। कार्यक्रम समापन गर्दै अध्यक्ष सन्तोषी गुरुङले अहिले पनि समाजमा छोरीलाई छोरा सरह व्यवहार नगर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै यस्तो विभेद अन्त्य हुनुपर्ने बतान र कार्यक्रममा सहभागी प्रमुख अतिथि लगायत सबैप्रति आभार व्यक्त गर्नुभयो।
सिक्लेस आमा समूहले गाउँको फोहोर व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
कार्यक्रम अधिवक्ता कृष्णकुमारी गुरुङको प्रमुख आतिथ्य तथा सिक्लेस आमा समूहकी अध्यक्ष सन्तोषी गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन आमा समूहकी सचिव गुमादेवी गुरुङले गरेकी थिइन भने स्वागत मन्तव्य सिक्लेस युवा क्लबकी उपाध्यक्ष प्रतीक्षा गुरुङले गरेकी थिइन।