काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । जाँचबुझ प्रतिवेदन सरकारलाई बुझाएको आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिए ।
जेनजी आन्दोलन हुँदा केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो । त्यसबेला गृह मन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौँका प्रजिअ छविलाल रिजाल थिए।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई दोषी देखाउदै फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ।
साथै भदौ २४ मा भएको आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई पनि फौजदारी मुद्दा चलाउन आयोगले सरकारलाई सुझाव दिएको छ।
असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगले भदौ २३ मा काठमाडौँको बानेश्वरमा भएको प्रदर्शनमा युवाहरूको ज्यान जानेगरी भएको घटनाबारे १५० जना भन्दा धेरै सरकारी अधिकारीहरू र आन्दोलनका प्रत्यक्षदर्शीहरुसँग बयान लिएको थियो ।