राष्ट्रिय सभामा कांग्रेस पहिलो दल : नेपाली कम्युनिस्ट पार्टी दोस्रोमा, एमाले तेस्रो

काठमाडौँ– आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको नतिजासँगै माथिल्लो सदनको शक्ति सन्तुलन फेरिएको छ । १८ पदका लागि भएको निर्वाचनमा ९ सिट जित्दै नेपाली कांग्रेस राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल बनेको छ ।

निर्वाचनअघि पहिलो हैसियतमा रहेको नेपाली कम्युनिस्ट पार्टी भने दोस्रो स्थानमा झरेको छ । यसअघि कांग्रेसका १६ सांसद रहेकामा अब ९ जना थपिएर कुल सिट संख्या २५ पुगेको छ ।

नेकपा (एमाले) ले आफ्नो साविकको उपस्थिति जोगाएको छ । एमालेका ८ जना सांसदको कार्यकाल सकिएर बिदा हुँदा आइतबारको निर्वाचनमा ८ जना नै निर्वाचित भएका छन् । यससँगै एमाले ११ सिटसहित तेस्रो स्थानमै सीमित भएको छ ।

निर्वाचनमा नेपाली कांग्रेस, एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेल भएको थियो । यही गठबन्धनका कारण कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट हात पारेका हुन् । राष्ट्रिय सभामा अब जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद रहनेछन् ।

नवनिर्वाचित सदस्यहरूको कार्यकाल आगामी फागुन २० गतेबाट सुरु हुनेछ । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस