२६औं आदर्श कपः तनहुँ एन्फा सेमिफाईनलमा

पोखरा, ११ माघ।पोखरा लेखनाथ वडा नं. २९ को भण्डारढिकमा जारी २६ औ आदर्श कप फुटबल प्रतियोगितामा एन्फा तनहुं सेमिफाईनलमा प्रबेश गरेको छ । खेलको तेस्रो दिन गन्नी एफ. सी. पर्वतलाई २–१ गोलको अन्तरले पराजित गर्दै तनहुँ एन्फा सेमिफाईनलमा यात्रा तय गरेको हो ।

जारि खेलमा एन्फा तनहुँका सञ्जय श्रेष्ठले २६ औं मिनेटमा एक उपहार गोल भएसंगै तनहुँले जित हासिल गरेको हो । रोमान्चक र प्रतिश्पर्दात्मक खेलको ५५ औ मिनेटमा गन्नी एफ.सीको तर्फबाट सबिन थापा मगरले प्रहार गरेको वलले झाली चुमेपछि खेल वरावरीमा पुगेको हो । दुवै तर्फबाट वरावरी गोल भएपछि उत्साहका साथ अगाडी वढेको खेलको ७१ औं मिनेटमा गन्नी एफ.सीको तर्फबाट भएको आत्मघाती गोल नै तनहुँका लागि उपहार गोल हुन पुग्यो । गन्नीका डिफेण्ड खेलाडी शहिद थापाको खुट्टामा लागेर गोल भएको थियो ।

माघ १३ गते पहिलो सेमिफाइनल खेलमा तनहुँले नेपाल प्रहरी गण्डकी प्रदेशसंग सामना गर्ने भएको छ ।

आदर्श युवा क्लवको आयोजनामा माघ ९ गते देखि १६ गतेसम्म हुने प्रतियोगितामा सहभागी ८ टिमको सहभागिता भएका छन् । केही टिम पराजितसंगै घर फर्किएकाछन् ।

यसैबिच, आईतवारको खेलमा एन्फा तनहुँका गोलरक्षक तोरण हिसानले म्यान अफ दी म्याच घोषित भए । अहिलेसम्म कास्की ११, होराईजन क्लव वालिङ र एन्फा तनहुँ सेमिफाईनमा प्रवेश गरिसकेको छन् भने सोमवार अन्तिम सेमिफाईनको खेल म्याग्दी जिल्ला र सशस्त्र प्रहरी वलका विच हुने भएको क्लवका अध्यक्ष पदम गुरुङले बताए ।

सोमबारको विजेताले दोश्रो सेमिफाइनलाको लागि स्याङजाको होराइजन क्लबसंग फाइनल यात्राको लागि माघ १४ गते भिड्ने भएको म्याच कमिस्नर गोपाल थापाले पोखराक्लिकलाई बताउनु भयो ।

“निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता” भन्ने मुल नारा सहित संचालीत प्रतियोगितामा प्रथम हुने टोलीले रु. ४ लाख ९९ हजार ९सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले रु. ३ लाख ३३ हजार ३सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । व्यक्तिगत विधागत पुरस्कार तर्फ उत्कृष्ट खेलाडीलाई रु. २५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने अन्य विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई रु. १५ हजार नगद सहित सम्मान गरिने आर्दश युवा सचिव सन्तोष गुरुङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस