काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देशलाई बदल्ने गरी पार्टी निर्वाचनमा होमिएको बताएका छन्।
विशेष महाधिवेशनमा पार्टी सभापति निर्वाचित भएपछि शुक्रबार पहिलोपटक पार्टी कार्यालय सानेपा पुगेर पदभार ग्रहणका साथै केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले सबैको चाहनाअनुसार नै कांग्रेस बदलिएर अघि बढेको भन्दै अब बदलिएको कांग्रेसले नै देशलाई बदल्ने संकल्पका साथ निर्वाचनमा होमिएको बताएका हुन्।
कांग्रेस सभापति थापाले छोटो समयमा प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्दा केही त्रुटिहरु भएको भन्दै आगामी निर्वाचनमा प्रत्येक क्षेत्रमा प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन गरिने स्पष्ट पारे। उनले आफूहरु संस्थापक नेताहरुले सिकाएको बाटोबाटै अघि बढेको बताए।
सभापति थापाले अन्य नेताहरुको निर्वाचन क्षेत्रमाभन्दा पनि आ–आफ्नै निर्वाचन क्षेत्रमा परिचालन हुन नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए।