भारत र अमेरिकाले आगामी १० वर्षमा रक्षा सहयोग विस्तार गर्न एक सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ र उनका भारतीय समकक्षी राजनाथ सिंहबिच क्वालालम्पुरमा भएको बैठकपछि सम्झौतामा हस्ताक्षर गरिएको हो ।
सम्झौताले ‘समन्वय, सूचना साझेदारी र प्राविधिक सहयोग’ बढाउनेछ र ‘क्षेत्रीय स्थिरता र प्रतिरोध’लाई अगाडि बढाउने हेग्सेथले सामाजिक सञ्जालमा बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत कर लगाएपछि दुई देशले तनावपूर्ण सम्बन्धलाई अन्त्य गर्ने प्रयास गरिरहेका वेला सम्झौता भएको हो । रुसी तेल र हतियार खरिद गरेको भन्दै वासिङटनले नयाँदिल्लीलाई २५ प्रतिशत जरिवानासमेत लगाएको छ ।
सम्झौताले भारत–अमेरिका रक्षा सम्बन्धको सम्पूर्ण क्षेत्रलाई नीतिगत निर्देशन प्रदान गर्ने अपेक्षा गरिएको छ । ‘यो हाम्रो बढ्दो रणनीतिक एकताको संकेत हो र यसले साझेदारीको नयाँ दशकको सुरुवात गर्नेछ । हाम्रो द्विपक्षीय सम्बन्धको प्रमुख स्तम्भको रूपमा रक्षा मामिला रहनेछ ।
स्वतन्त्र, खुला र नियममा आधारित इन्डो–प्यासिफिक क्षेत्र सुनिश्चित गर्न हाम्रो साझेदारी महत्वपूर्ण छ,’ सिंहले सामाजिक सञ्जाल एक्समा भनेका छन् । युरेसिया ग्रुप थिंक ट्यांकका प्रमित पाल चौधरीका अनुसार सम्झौता यस वर्ष जुलाई–अगस्टमा सम्पन्न हुनुपर्ने थियो । यो सम्झौता दुई देशबिचको सम्झौता शृंखलामा पछिल्लो अंश हो ।