काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सात राजनीतिक दललाई आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न आमन्त्रण गरेकी छन्।
प्रधानमन्त्री कार्कीले यही कात्तिक ४ गते साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचनबारे छलफल गर्न दलहरूलाई पत्र पठाएको उनका प्रेस संयोजक राम रावलले जानकारी दिए।
छलफलमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका दुई-दुई जना उच्चस्तरिय प्रतिनिधिलाई बोलाइएको हो। प्रधानमन्त्रीले सबै प्रमुख राजनीतिक शक्तिहरूलाई एकै ठाउँमा ल्याएर निर्वाचन प्रक्रियालाई थप समावेशी र स्वीकार्य बनाउन चाहेको बुझिएको छ। यस किसिमको छलफलले निर्वाचनसम्बन्धी नीतिगत निर्णयहरू र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।