पोखरा।कास्कीको मादी गाउँपालिका–७ मा बिरामी खोज्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली गाउँ–गाउँ र घर,घरमा पुगेर स्वाथ्य परीक्षण गर्दै आइरहेका छन् । वडा कार्यालय र मादी आधारभूत अस्पतालले गाउँ–गाउँमा पुगेर स्वास्थ्य सेवा दिने गरेको हो।
हरेक तीन महिनामा अस्पताल आउन टाढा पर्ने गाउँमा पुगेर घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिन्छ । मादी गाउँपालिका– ७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले दुई बर्षदेखि गाउँमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

शिविरमा नसर्ने रोगको स्क्रिनिङ, पाठेघरको मुखको भिआइए परीक्षण ‘ज्येष्ठ नागरिकसँग जनप्रतिनिधिको भेटघाट’ लगायत कार्यक्रम हुने गर्दछ । स्वास्थ्य संस्थाबाट टाढा रहेको गाउँमा शिविर चलाइरहेको वडाध्यक्ष गुरुङ भन्छन्, ‘जनता सेवा खोज्दै आउने होइन कि हामी जनता खोज्दै गाउँमा पुग्नुपर्छ ।’ स्वास्थ्य संस्थाबाट टाढा रहेका गाउँ तल्लो छाचोक, सवि, ज्याम्दु, थाक र महाघारी गाउँमा शिविर चलाउने उनको भनाइ छ ।

वडाध्यक्ष गुरुङ जनताको स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता भएको बताउछन् । नागरिक स्वस्थ भएमा भौतिक पूर्वाधार विकासको अर्थ रहने उनको तर्क छ ।