पोखरा । पर्यटन सिजनको सुरुवातसँगै पोखरामा रौनक बढ्ने अपेक्षा थियो, तर जेन–जी आन्दोलनले त्यहाँको पर्यटन व्यवसायलाई ठुलो धक्का दिएको छ । आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले पोखराको पर्यटन क्षेत्र धुवाँमय बनेको छ ।
व्यवसायीका अनुसार सिजनमा कम्तीमा ७० प्रतिशतसम्म बुकिङ हुने अपेक्षा थियो, तर अहिले मात्र करिब १० प्रतिशतमा सीमित भएको छ । ‘भ्रमण वर्ष २०२५’ का लागि विभिन्न कार्यक्रम तयारी भइरहेका बेला हिंसात्मक गतिविधिले सम्पूर्ण योजनामा नकारात्मक असर पारेको पर्यटन परिषदका पदाधिकारीहरूको भनाइ छ ।
आन्दोलनकै क्रममा पोखराका प्रमुख होटलहरू सरोबरसहित बरविपल रिसोर्ट, होटल गुडविल, बगैंचा रिसोर्ट एण्ड स्पामा तोडफोड र आगजनी भएको थियो।
पर्यटन उद्योग रोजगार, वैदेशिक मुद्रा आर्जन र अर्थतन्त्रमा महत्वपूर्ण आधार भएकाले पुनःउत्थान अपरिहार्य छ ।
पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले सात खर्बभन्दा बढी लगानी भइसकेको पोखराको पर्यटन उद्योग अहिले सुनसान बनेको भन्दै तत्काल सरकारी पहल आवश्यक रहेको बताए । आन्तरिक पर्यटकसमेत पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा पोखरा सहज पुग्न नसकिरहेको र यसले संकट अझ गहिरो बनाएको व्यवसायीहरूको गुनासो छ ।