पोखरा–भुटानको पारो अन्तर्राष्ट्रिय चार्टर सिधा उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ। भुटान एयरलायन्सले चार्टर उडान गर्न लागेको हो ।युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी) ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाएको छ ।

ट्राभलका सञ्चालक परासर प्रसाईंले १२ असोजसहित १६, २० र २४ गते उडान हुने जानकारी दिनुभयाे। भुटान एयरलायन्स एक सय २६ सिट क्षमताको हो ।पोखराबाट पारो अन्तर्राष्ट्रिय उडानपछि नियमित उडानको ढोका खुल्ने विश्वास पोखरेलीको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगर प्रमुख धनराज आचार्यले नियमित उडानका लागि महानगरले पहल गर्दै आएको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणपछि नियमित उडानको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश पर्यटनमन्त्री मित्रलाल बस्याले प्रदेश सरकारले समेत विमानस्थल चलाउन निरन्तर पहल गर्दै आएको जानकारी दिनुभयो ।
युटिटीका कार्यवाहक अध्यक्ष परासर प्रसाइले सबैको साथ र निरन्तरको प्रयास भएको खण्डमा पोखरादेखी नियमित अन्तर्राष्ट्रिय उडान सम्भव रहेको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–पारो अन्तर्राष्ट्रिय चार्टर उडान हुनेको घोषणाले आफूहरुमा उत्साह छाएको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले नियमित उडानका लागि निरन्तर पहल गर्न समेत आग्रह गर्नुभयो ।पोखरा विमानस्थल सन् २०२३ को जनवरी १ मा उद्घाटन गरिएको हो । उद्घाटनको तीन वर्ष पूरा हुँदा समेत यहाँबाट केही चार्टर उडान मात्र हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस