क्वहोलासोंथर गाउँपालिकाको एकिकृत सेवा शिविर पोखरामा

पोखरा।लमजुङ जिल्लाको क्वहोलासोंथर गाउँपालिकाले पालिकावासीलाई एकिकृत सेवा दिन पोखरामा शिविर सञ्चालन गरेको छ । सेवाग्राहीहरुलाई मध्यनजर गरि सहजताका लागि घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारीको टोली पोखरा आएका हुन् ।

पोखरा महानगरपालिका–१२ पसगाउँ समाजघरमा आइतबार सुरु शिविरको गाउँपालिकाका अध्यक्ष सुर्य प्रसाद गुरुङले उद्घाटन गरे । गाउँपालिकासम्म पुग्न नसक्ने अशक्त, असाह्य र अपांगता भएका पालिकावासीको सहजताका लागि शिविर लिएर पोखरा आएको उनको भनाइ छ । समस्यामा रहेकालाई घरदेखि अस्पतालसम्म पुगेर सेवा दिने लक्ष्य रहेको उनले उल्लेख गरे ।

आइतबार सुरु शिविर बिहिबारसम्म चल्नेछ । शिविरमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण, मलपोत तथा भूमिकर संकलन, जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता, सम्बन्धविच्छेदसँगै वडा र गाउँपालिकाबाट प्रदान गरिने सबै सेवाहरु प्रदान गरिनेछ ।

वडाअनुसार सेवा दिने तालिका बनाइएको छ । आइतबार वडा नम्बर १, २ र ३ ले सेवा लिनेछन् । सोमबार वडा नम्बर ४ र ५ का सेवाग्राहीको पालो रहेको छ । मंगलबार शिविरमा वडा नम्बर ६ र ७ का सेवाग्राहीले सेवा पाउनेछन् । बुधबार वडा नम्बर ८ र ९ को पालो हो भने शिविरको अन्तिम पदन बिहिबार छुटेका सबै वडाका सेवाग्राहीलाई सेवा प्रवाह गरिनेछ ।

शिक्षा र रोजगारीको खोजीमा पोखरा बसाँइ झरेपनि औपचारिक रूपमा बसाइसराइ नगरेका पालिकाबासीलाई शिविरले सहजता ल्याउने गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस