मेची नदिको बाढीले नेपाल–भारत सीमा स्तम्भ ढाल्यो

झापा —मेची नदीमा आएको बाढीले नेपाल–भारत सीमा स्तम्भ भत्काएको छ । मंगलबार राति आएको बाढीले मेचीनगर–१५ लिम्बुडाँडास्थित मेची नदीमा रहेको ९२/११ नं सहायक सीमा स्तम्भ भाँचिदिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।प्रहरीका अनुसार मंगलबार दिउँसो नदी पुगेको सशस्त्र प्रहरीको टोलीले उक्त सीमा स्तम्भ खोलामा ढलेको अवस्थामा भेटेको थियो ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सीमा स्तम्भ बाढीले ढालेको विषय जानकारीमा आएको बताए । उनका अनुसार मेची नदीले कटान गर्ने क्रममा सीमा स्तम्भ ढलेको हो । ढलेको सीमा स्तम्भलाई पुनर्स्थापना गर्ने कार्य अब अघि बढाइने उनले बताए । ‘सीमा स्तम्भ कहाँ थियो भन्ने कुरा थाहा नै छ । यसका लागि दुईतर्फी संयन्त्र छ । उक्त संयन्त्रको बैठक बस्छ र ढलेको सीमा स्तम्भलाई पुनर्स्थापना गर्ने कार्य हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस