धम्पुस सत्लेमा तीज मेला हुदैं,भलिबल र रस्सी तान्ने मुख्य आर्कषण

पोखरापाटी । हरितालिका तीजको अवसरमा हिमशिखर युवा क्लब धम्पुसले ९ औं हरितालिका तीज मेला तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम भदौ ९ गतेदेखि ११ गतेसम्म धम्पुस ७ सत्लेमा हुने जनाइएको छ । ‘विकासका लागि युवा’ भन्ने मूल मन्त्रका साथ स्थापित क्लबले स्थापना कालदेखि नै खेलकुद, पर्यटन, संस्कृति र सामाजिक चेतनामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

यो वर्षको तीज मेला, अघिल्ला वर्षहरूभन्दा झन भव्य, व्यवस्थित र समावेशी हुने आयोजक भनाइ छ । आयोजकका अनुसार मेलामा स्थानीय भलिबल खेलाडीहरूको भिडन्तदेखि लिएर, नाचगान, लोक गीत र झाँकीहरू प्रस्तुत हुनेछन् ।

मेलाको आकर्षणका रुपमा महिला भलिबल, पुरुष भलिबल, रस्सी तान्ने, ठेलो हान्ने, एकल र सामूहिक नृत्यजस्ता प्रतिस्पर्धात्मक कार्यक्रमहरू रहेको क्लवका सचिव अनिल सुनारले जानकारी दिए ।

‘मेलालाई थप आर्कषण गर्नको लागि मञ्चलाई ग्रामीण संस्कृति र सौन्दर्यले सजाइनेछ, जहाँ धम्पुसको लोकसंस्कृति, हस्तकला, कृषि उत्पादन र कला–साहित्यले विशेष स्थान पाउनेछ ।

यो मेलाले केवल मनोरञ्जन मात्र होइन, समुदायको आर्थिक गतिशीलता र सामाजिक समावेशितामा समेत महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ,’ उनले भने । सुनारले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।‘विगतमा जस्तै भब्य रुपमा मेला सम्पन्न गर्ने तयारी गरिरहेको छौ’,माछापुच्छ्रे गाउपालिका वडा नं.७ धम्पुसका अध्यक्ष बैकुण्ठ भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस