भारतको उत्तराखण्डको बाढीमा १८ नेपाली बेपत्ता, जाजरकोटका एकै वडाका १३ जना

भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार आएको बाढीपहिरोपछि जाजरकोटका १३ जना र बर्दियाका ५ जना सम्पर्कविहीन छन् । मंगलबार ‘क्लाउड बर्स्ट’ (आरिघोप्टे वर्षा) का कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालमा पहिरो गएको थियो ।

जाजरकोटका मात्रै १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर जाजरकोट कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार एक विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिए । उनले भने, ‘बाढीपछि बेपत्ता भएकाहरू हालसम्म सम्पर्कमा आएका छैनन्, उहाँहरूसित सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन् ।’

यस्तै, उत्तराखण्डको पौडी गढवालस्थित ग्राम बाकुडाबाट करिब १ किमि टाढा मधेरा खटौलानजिक सिन्धु खोला किनारमा बुधबार बिहान खसेको पहिरोमा परी ५ जना नेपाली बेपत्ता भएका छन् । सडक निर्माणको काममा गएका नेपाली कामदार खोला किनारमा टेन्ट हालेर बस्दै आएका थिए ।

बेपत्ता हुनेमा बर्दियाका मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का एकै परिवारका तीन, मधुवन–५ गाउँ नम्बर ८ का एक र मधुवनकै वडा नखुलेका एक जना छन् । पहिरोमा परी मधुवन–६ का ३९ वर्षीय नरेन्द्र

खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन बेपत्ता भएको नरेन्द्रका काका उद्धव खड्काले बताए । गाउँ नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता र मधुवनकै २१ वर्षीय सुवास विक पनि पहिरोमा बेपत्ता छन् ।

प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको दुःखद् खबरप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद् खबरले आफू चिन्तित भएको व्यक्त गरेका हुन् ।

‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद् खबरले चिन्तित छु । बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।

प्रधानमन्त्री ओलीले बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर प्राप्त भएको र उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस