अण्डाको उत्पादन घट्यो, मूल्य ह्वातै बढ्यो

नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुनेगरी समर्थन मूल्य तोकेको छ। बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट ४८० रुपैयाँ र मझौला ४५० रुपैयाँ कायम गरिएको छ। दुवैमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि भएको हो।

व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट)को ठूलो ३ हजार ५४० रुपैयाँ र मझौला ३ हजार ३३० रुपैयाँमा बिक्री गर्ने अध्यक्ष विनोद पोखरेलले बताए। चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ देखि ३० हजारमा झरेको पोखरेलले बताए। गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न सकेका छैनन्। विद्यालय, क्याम्पस खुलेर र पर्यटक बढेपछि बजारमा अण्डाको माग बढेको उनी बताउछन्। अण्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो।

धेरै किसान विस्थापितसमेत भएको उनी बताउछन्। गत वर्ष प्रतिक्रेट ५२५ रुपैयाँसम्म पुगेको अण्डाको मूल्य घटेर ३५० रुपैयाँमा झरेको थियो। नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा छ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवन र आसपासका जिल्लाबाट यहाँ ल्याइएका नमूना हेर्दा ५० फार्ममा एच ९ .एचनाइन) रोगको सङ्क्रमण देखिएको छ। यससँगै गम्बारो, साल्मोनेलाजस्ता समस्या छन्। जसले गर्दा अण्डाको उत्पादन घटेको उनको भनाइ छ। वर्षातको समयमा चर्को गर्मीसँगै ढुसीजन्य आहारका कारण रोग बढ्ने र उत्पादन घट्ने उनी बताउछन्।

प्रतिक्रिया दिनुहोस