चिनियाँ विज्ञ टोलीले गरेको अध्ययनअनुसार नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको पत्ता लागेको हो । अब परीक्षण उत्पादन गरेर त्यसको यकिन गर्ने भन्दै विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ ।
दैलेखमा १ सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेपछि शुक्रबार दिनभर सरकार र राजनीतिक दलबीच चर्चाको विषय बन्यो । सत्तापक्ष र प्रतिपक्ष दलका शीर्ष नेताले एकै थलोमा बसेर खुसी बाँडेका छन् ।
संक्रमणकालीन न्याय सम्बन्धी छलफल गर्न प्रधानमन्त्री केपि ओलि निवास सिंहदरबारमा बसेको कांग्रेस एमाले र माओवादीका शीर्ष नेताले दैलेखमा ग्यास भण्डार भेटिएपछि खुसी बाँडेका हुन् ।कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समर्थन गर्दै यो खुसीको विषय भएको बताएका थिए ।
गत जेठमा माओवादीको मध्यपहाडी राजमार्गमा राजनीतिक अभियानका क्रममा प्रचण्डले दैलेखमा रहेको खानी उत्खनन क्षेत्रको अवलोकन गरेका थिए । उनले त्यसबेला माओवादी नेतृत्वको सरकारमा खानी अन्वेषण भएको दाबी गरेका थिए ।
खानी तथा भूगर्भ विभागका अनुसार चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङका आधारमा प्रारम्भिक प्रतिवेदनअनुसार ठूलो परिणाममा मिथेन ग्यास भएको पत्ता लागेको जनाएको छ । यसको अन्तिम प्रतिवेदन भने डिसेम्बरसम्म आउने विभागले जनाएको छ ।