अब फेरि फेवातालमाथि प्याराग्लाइडिङ सुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै फेवातालमाथि उडान गर्न रोक लगाइएको प्याराग्लाइडिङ फेरि सञ्चालनमा आउने भएको छ । नागरिक उड्डयन प्राधिकरणले पहिलेजस्तै फेवा किनारको खपौदी (इन्ड अफ दी लेक) मा अवतरण गर्न अनुमति दिएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी उडानस्थल साविकको अवस्थामा फर्किनु सुखद भएको उल्लेख गर्दै एकल उडान पनि खोल्नुपर्ने बताउँछन् । नवौं राष्ट्रिय खेलकुदका क्रममा प्याराग्लाइडिङ दुर्घटनामा निसिम थापाको निधन भएपछि सोलो उडान बन्द छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर योगेन्द्र कुँवर प्राधिकरणले प्याराग्लाइडिङ व्यवसायीको पक्षमा निर्णय गरेको बताए । प्याराग्लाइडिङ उडानलाई सुरक्षित बनाउन स्थानीय सरकार र अन्य सरोकारवालाले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस