मादी गाउँपालिका–३, याङजाकोटमा अवस्थित श्री याङजाकोट मिलन युवा क्लबद्वारा बुद्धजयन्तीको अवसरमा आयोजित “बुद्धजयन्ती मेला–२०८२“ भव्य रुपमा सम्पन्न भएको छ।
मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएका थिए, जसले स्थानिय समुदायको सक्रिय सहभागिता र उत्साहजनक उपस्थिति देखाएको थियो। मेलाको मुख्य आकर्षणको रुपमा रहेको खुला भलिबल प्रतियोगितामा स्याङ्जाको हरिनास गाउँपालिका–६ को टोलि विजयी बन्दै पहिलो स्थान हासिल गर्न सफल भयो। विजेता टोलिले नगद रू. १ लाख ११ हजा्र १ सय ११ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे। उपविजेता कास्की अन्नपूर्ण गाउँपालिका–१० को टोलिले नगद रू. ५५,हजार ५सय ५५ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि अन्नपूर्ण गाउँपालिकाका आकास घमालले जित्दै उनले नगद रू. प्रन्ध हजार र साथमा सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे।
लोकप्रिय खेलका रुपमा रहेको छेलो प्रतियोगितामा किरण सुनार प्रथम हुँदै नगद रू. ५०हजार हात पार्न सफल भए। उपविजेता पौँ बहादुर सुनारले नगद रू. २५ हजार प्राप्त गरे।
महिलाहरुबीच आयोजित रस्साकस्सी प्रतियोगितामा पोखरा दिदीबहिनी समूह प्रथम बन्यो। उनीहरुले नगद रू. १५हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे। दोस्रो स्थान मर्के आमा समूहले प्राप्त गर्दै नगद रू. १० हजार सहित पुरस्कार पायो। तृतीय स्थान ठुलोगाउँ क्रोम्छे चेलिबेटी समूहले हात पार्दै ५ हजार नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। भलिबल प्रतियोगिताको प्रथम पुरस्कार याङजाकोट परिवार, यूकेद्वारा प्रायोजित गरिएको थियो भने दोस्रो पुरस्कार रुद्र ब्रदर्स मल्टिपर्पोज कन्ट्रक्सनले प्रायोजन गरेको थियो।
छेलो प्रतियोगिताको आजीवन प्रायोजन हिरा सिंह गुरुङद्वारा गरिएको थियो। रस्साकस्सी प्रथम पुरस्कार निसान लज र द्वितीय पुरस्कार लक्ष्मी गुरुङ, हङकङले सहयोग गरेका थिए।
साथै मेलामा चर्चित लोकदोहोरी गायिका ज्योति मगरको दमदार प्रस्तुति तथा तरेली सांस्कृतिक परिवार र स्थानीय आमा समूहहरुले प्रस्तुत गरेको मौलिक नृत्यहरुले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। मेलाको समापनमा बोल्दै हिरा सिंह गुरुङले गर्नुहुँदै आगामी वर्ष छेलो पुरस्कार राशिमा ५ प्रतिशतले वृद्धि गर्ने र १८ वर्षमुनिका विजेतालाई एक लाख रुपैयाँ पुरस्कार दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मादी गाउँपालिकाका अध्यक्ष देबिजंग गुरुङले यस्ता मेलाहरुले हराउँदै गइरहेको संस्कार र संस्कृतिको संरक्षणमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
क्लब अध्यक्ष योगेन्द्र गुरुङले सम्पूर्ण सहयोगदाताहरु प्रति आभार प्रकट गर्दै आगामी वर्षको मेलामा समेत यस्तै उत्साहजनक सहभागिता हुन अनुरोध गर्नुभयो। कार्यक्रमको सञ्चालन क्लबका सचिव अमृत गुरुङले गर्नुभएको थियो।







