एसिया प्यासिफिक हवाई तथा नागरिक उड्डयन विज्ञहरूको पोखरामा भेला

एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन क्षेत्रका विज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन्।पोखरामा उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन अन्तर्गतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा आएका हुन्। बैठक वैशाख २७ गतेसम्म चल्नेछ।


पोखरा । एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन क्षेत्रका विज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन्।पोखरामा उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन अन्तर्गतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा आएका हुन्। बैठक वैशाख २७ गतेसम्म चल्नेछ।

कार्यशाला बैठकको उद्घाटन सत्रमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सुरक्षित हवाई यात्राको सुनिश्चितताका लागि विद्यमान जोखिमहरू पहिचान र व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्। मन्त्री पाण्डेका अनुसार, नेपाल सरकार यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउने तथा प्रविधिमैत्री, सुविधायुक्त र सुरक्षित पूर्वाधार निर्माण गर्न प्रतिबद्ध छ।

बैठकमा एसिया प्यासिफिक क्षेत्रमा हवाई उड्डयनले सामना गरिरहेका वन्यजन्तुजन्य जोखिमहरूको अवस्था, ती जोखिम न्यूनीकरणका उपायहरू, समाधानका सम्भावना र उड्डयन सुरक्षालाई बलियो बनाउने रणनीतिमाथि छलफल हुँदैछ। विज्ञहरूका अनुसार, यस्ता बैठकहरूले क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्दै हवाई सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले उड्डयन क्षेत्रको संवेदनशीलताप्रति महानगरपालिका सजग रहेको बताउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनअघि नजिकैको ल्याण्डफिल साइड स्थानान्तरण गरेर सहज वातावरण तयार गरिएको जानकारी दिएका छन्। “ल्याण्डफिल स्थानान्तरण सजिलो थिएन, तर आवश्यक थियो। धेरै चुनौतीका बीचबाट निर्णय लिइयो र एक महिनाभित्रै सुरक्षित दूरीमा सारियो,” नगर प्रमुख आचार्यले बताएका छन्। उनीका अनुसार, विमानस्थलको संवेदनशीलतालाई बुझेर गरिएको यो निर्णयले हवाई सुरक्षामा स्थानीय सरकारको भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने पुष्टि गर्छ।

“राम्रो नीति, बलियो स्थानीय नेतृत्व र क्षेत्रीय सहकार्यमार्फत मात्र हामी आकाशलाई अझ सुरक्षित बनाउन सक्छौँ,” नगर प्रमुख आचार्यले भनेका छन्। उनी भन्छन्, “हामी एक भू-परिवेष्ठित देशका नागरिक हौँ, बदलिंदो विश्व परिवेशमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सम्पर्क अब नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय बनिसकेको छ। त्यसैले हामी हाम्रो सहरलाई हवाई सेवालाई माध्यम बनाएर विश्वसँग जोड्न चाहन्छौँ।” साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई एसिया प्यासिफिक क्षेत्रका मुलुकहरूसँग जोड्न सकिने सम्भावनाको खोजी गर्न आग्रह समेत गरेका छन्।

बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, आइकाओ एसिया प्यासिफिक क्षेत्रका उप–निर्देशक मन्जित सिंह लगायतले हवाई सेवालाई सबैको पहुँचमा पुर्‍याउने तथा सुरक्षासम्बन्धी विद्यमान चुनौतीहरू समाधान गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।

बैठकमा एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस