पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले संस्थाका अध्यक्ष सुजन श्रेष्ठलाई ब्लडव्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरेकी थिइन् ।
सो अवसरमा महासंघ अध्यक्ष भण्डारीले रक्तदान मानव जीवनकै उत्कृष्ट कार्य भएको भन्दै रक्तदानबारे अझै पनि जनचेतना जगाउनुपर्नेमा जोड दिइन् ।
वैदेशिक रोजगार सुरक्षित र मर्यादित हुनुपर्ने भन्दै उनले यस पेसाका नाममा हुने गरेका ठगी नियन्त्रणमा संघ सक्रिय हुन आवश्यक रहेको बताइन् ।
संघका अध्यक्ष श्रेष्ठले केही व्यक्तिका कारण समग्र व्यवसाय नै बद्नाम हुने गरेको बताए । उनले यस क्षेत्रको विकृति विसंगति न्यूनीकरणमा संघ क्रियाशील रहेको स्पष्ट पारे ।
नागरिकले बीचको बाटो अर्थात दलालबाट नभई आधिकारिक संस्था एवं एजेन्टबाट वैदेशिक रोजगारका लागि आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए ।
संघका संस्थापक खेमराज बरालले विगतका दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएकोमा यसपटक रक्तदान कार्यक्रम आयोजना गरिएको भन्दै रगत अभाव परिपूर्ति गर्न कार्यक्रम महत्वपूर्ण हुने बताए ।
संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल रक्तदाता स्वयंसेवी समाजका अध्यक्ष तीर्थराज अगस्ती, कार्यक्रम संयोजक एवं संघका कार्यसमिति सदस्य आयुर मिया, महासचिव विक्रम पोखरेल लगायतले संघका गतिविधि र रक्तदानको महत्वबारे चर्चा गरेका थिए ।
सो अवसरमा सहभागी एक सय ३० निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । स्वास्थ्य परीक्षण नागढुंगास्थित रत्न पोलिक्लिनकले गरेको हो ।