पोखरा । आर्थिक वर्ष २०७९/८०को प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकनमा पोखरा महानगर सबैभन्दा कमजोर देखिएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार गण्डकी प्रदेश सरकार तेस्रो स्थानमा रहँदा ६ महानगरमध्ये पोखरा सबैभन्दा कमजोर देखिएको हो ।
२०७९/८० मा हुने कार्यसम्पादन मूल्यांकनमा स्थानीय तहको नतिजा निराशाजनक छ । स्थानीय तहमध्ये महानगरपालिकामा सबैभन्दा धेरै अंक भरतपुर महानगरपालिकाको छ भने पुछारमा पोखरा महानगरपालिकाा परेको छ ।
भरतपुरले ५६.२९ अंक ल्याएको छ भने दोस्रो भएको बालेन शहर काठमाडौं ३९.०२ मा सीमित छ । वीरगञ्जले ३३.४९, विराटनगरले ३२.८५, ललितपुरले २५.१८ ल्याउँदा सबैभन्दा पुछारमा पोखरा महानगरले २०.७४ अंक पाएको हो ।
मुल्यांकन गर्दा १० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए, नदिएको लगायतका आधारमा मूल्याकंन गर्ने गरिएकोे छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १० वटा सूचकका आधारमा प्रदेशहरुको मूल्यांकन गरेको छ ।
यता पोखराका मेयर धनराज आचार्यले पोखरा महानगरपालिका कार्य सम्पादनका आधारमा अब्बल रहेको दाबी गर्ने गरेका छन् । पोखरा महानगरको कार्य सम्पादन अन्य महानगरसँग तुलनासम्म नहुने उनले गर्दै आएका थिए । तर प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा मेयर आचार्यको दाबी विपरित पोखरा महानगरमध्ये सबैभन्दा पुछारमा परेको हो । जसले गर्दा मेयर आचार्यका आफ्ना तर्कहरु गफमा मात्र सिमित रहेको प्रष्टिएको छ ।