यतिबेला २९ औं जनयुद्द दिबस नेपाली जनताले बिबिध ढंगले बिगतको कालखण्ड र आजको नयाँ युगिन समयलाई सम्झिरहेका छन् । बर्गीय समाजमा सबैले एकै ढंगले सोच्ने कुरै भएन । जसरी समाज दुई बर्गमा विभाजित हुन्छ त्यस्तै गरि जनयुद्दलाई हेर्ने र बुझ्ने दृष्टीकोण पनि आफ्ना-आफ्ना छन् । मुलभूत रुपमा परिबर्तनलाई स्वीकार गर्नेहरु अर्थात आधारभुत बर्ग जनयुद्दलाई सम्मान गर्दछ भने अर्को तर्फ परिबर्तन भएकोमा आफ्नो रोजी रोटि खोसिएको अर्थात आफ्नो स्वर्ण युग समाप्त भएकोमा अर्को बर्ग (सामन्त) भने अति दुखि छ । यो कुनै पार्टी बिशेष वा दल समुह मा नभई हरेक भित्र प्रस्ट दुई धारमा विभक्त भएर अघि बढिरहेको छ ।
यतिबेला समाजमा अनौठो भाष्य खडा गरेर जनयुद्दलाई अपमान गर्ने गरि एउटा शक्ति अघि बढिरहेको छ । खास गरि जनयुद्दको मुल नेतृत्व पार्टीलाई हर ढंगले प्रहार गरेर त्यसलाई कसरी जनयुद्द गलत थियो भन्ने निष्कर्ष निकाल्न सकिन्छ भन्नेमा व्यस्त छन् । तर उदेक लाग्दो के छ भने इतिहासलाई जसरि अतिरन्जित गरि कुरूप बनाउन लागेपनि परिबर्तनको आभास लाई भने कदापी छेक्न सकेका छैनन र परिबर्तनको रथमा गुड्न नसकेपनि लतारिरहेका छन् । खास गरि जनयुद्दको मूल उद्देस्य नेपालमा सामन्तवादको उन्मुलन गरेर जनवादी क्रान्ति सम्पन्न गर्दै बिस्व कम्युनिस्टहरुको महान दिशा समाजवाद हुंदै साम्यवाद सम्म पुग्नु थियो । हो आज जनयुद्दका सपनाहरु जुन उचाईमा थियो त्यो उचाई सम्म पुग्न सकिरहेको छैन , जुन स्तरको बलिदानी भयो त्यो स्तरको उपलब्धि पाउन सकिरहेको छैनौ यो निश्चितै हो । तर जनयुद्द केहि थिएन , जनयुद्द सिमित नेताहरुको मोजमस्ती थियो, जनयुद्ध हिम्साको युग थियो भनेर जसरी गलत भाष्य निर्माण गर्न खोजिदै छ कदापि यो कुरालाई आजको पुस्ता र युगले त्यसको कडा प्रतिबाद गर्नु र जनयुद्दलाई स्थापित गर्दै थप परिबर्तनको बाटोमा अघि बढ्नु आजको मुख्य आबश्यकता हो ।
आजको पिढीलाई सुनेर वा लहैलहैमा लागेर इतिहास नबुझी र नपढी कुनै इतिहासको अपमान गर्ने छुट छैन । २५ बर्स अघिको समाज , चेतना र शासन प्रणाली र अहिलेको समाज चेतना र शासन प्रणालीको भेद छुट्याउन सके मात्र पनि जनयुद्दलाई बास्तबिक अर्थमा बुझ्न सजिलै सकिन्छ ।
तत्कालिन नेकपा माओवादीले नेतृत्व गरेको जनयुद्द कुनै आवेग र बिना योजनाका साथ गरिएको वा अराजनीतिक ढंगले गरिएको छैन भन्ने कुराको पुस्टि जनयुद्द अघि संयुक्त मोर्चाको तर्फबाट बाबुराम भट्टराईले तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएको ४० सुत्रीय माग बाट प्रस्ट हुन्छ । यदि राज्यले ति मागहरुलाई समयमै सम्बोधन गर्न सकेको भए जनयुद्दको त्यो खालको बलिदानीको आबश्यकता नपर्न सक्थ्यो । राज्यले दमनको बाटो लियो र युद्द चरम बनेर गयो यो आँखा अगाडी सबैले बुझेको छर्लङ्ग छ । जनयुद्द गलत थियो भनेर फलाकनेहरुले या पुरानै राज्यब्यबस्था ठिक थियो र माओबादीले गरेको मागहरु सहि थिएनन् भनेर प्रमाणित गर्न सक्न पर्यो या आजको परिबर्तनलाई स्वीकार गर्दै जनयुद्द जिन्दाबाद भन्न सक्न पर्यो । तर जनयुद्दलाई अस्विकार गर्ने र जनयुद्दबाट प्राप्त उपलब्धि लाई हसुर्ने यो अवसरवादी पाखण्डीपन भने अब यो समाजमा उदाङ्ग्गो हुन जरुरि छ ।
बास्तबमा माओबादीले राखेका अनेकौ मागहरु मध्ये मुलभूत रुपमा रास्ट्रीयता संग सम्बन्धित रहेर असमान सन्धि सम्झौता खारेज गर्ने, जनजिबिका सम्बन्धी महँग्गी, भ्रष्टाचार रोक्ने, भूमिहीन हरुलाई भूमि ग्यारेन्टीगर्ने ,पितृसत्तात्मक शोसण अन्त्य गर्ने,जातीय शोषण अन्त्य गरिनुपर्ने ,वाक् स्वतन्त्रता हुनुपर्ने , नयाँ संबिधान लागू गर्नुपर्ने , राजा र राजपरिवारका सबै बिशेषाधिकार अन्त्य गर्ने , बिदेशी एकाधिकार पुँजिको आधिपत्य अन्त्य गरिनुपर्ने , जस्ता महत्वपूर्ण मागहरु आजको युग सापेक्षित जायज मागहरु थिए । बिज्ञान प्रबिधिको आजको बैज्ञानिक युगमा नेपाल भने जातीय ,क्षेत्रीय ,लिंगीय , र हरेक हिसाबले उत्पीडनको भुमरीमा रुमिरहेको थियो र नेपालका सामन्तहरु त्यहि ब्यबस्था र नीतिमै मोजमस्ती गरेका थिए ।
माओबादीले आँफुले उठाएको बाटोमा आँफुलाई कति हिडाउन सक्यो माओवादी वृतका यात्रीहरुले अबश्य यसको समिक्षा गर्नुपर्दछ तर सिंग्गो समाजलाई चेतनाको ढोका खोल्ने कुरामा भने कायापलट नै मान्न सकिन्छ । आज तत्कालिन माओवादीले राखेका ४० सुत्रीय मागहरु पुरा भए त भनेर समीक्षा गरने हो भने हामी कतिपय मुद्धामा आज झन् पेचिलो बनेको पनि पाउन सक्छौ यो भने अर्को गम्भीर र सोचनीय बिसय हो । तर मुलभूत रुपमा राज्यको शासन ब्यबस्था एउटा जहानिया परिवारबाट खोसेर जनताको हातमा पुर्याउने काममा भने माओवादीहरु सफल भएका छन् । आज देशले एउटा प्रगतिशील संबिधान र त्यसैको जगमा ७५३ वटा स्थानीय अधिकार सहितको निकाय हरु खडा गरेको छ । जुन अधिकार हरुको इमान्दार भएर मात्रै कार्यन्वयन गर्ने हो भने पनि जनताका धेरै एजेन्डाहरु सम्बोधन हुदै अझ प्रगतिशील बाटोमा समाजलाइ हिडाउन सकिन्थ्यो । तर यहाँ बिचित्र र उदेक लाग्दो त कतिसम्म भने सत्तामा आधिपत्य जमाऊन , भ्रष्टाचारको स्वर्ग खडा गर्नका लागी भने करोडौ रकम खर्चेर पनि शक्ति र सत्तामा रहन खोजने तर माओवादी जनयुद्दलाई स्वीकार गर्न भने अझै पनी चिटचिट गर्ने मनोरोगी हरुको दृश्य भने टिठ लाग्दो छ ।
परिबर्तनलाई देख्न रुचाउन नै नचाहने शक्तिहरु आज होइन जनायुद्धकै बेलादेखि नै माओबादी फोबिया रोगले ग्रसित बनेका थिए । माओबादी देख्ने र सुन्ने बित्तिकै डरले काप्ने र सुराकी गरेर जिबनको जोहो चलाइ आएका अपराधिहरु आज पनि हर ढंगले माओवादी र जनयुद्दलाई बदनामित बनाउन अनेकौ षडयन्त्रहरु रचिरहेका छन् । बास्तबिक अर्थमा भन्नुपर्दा बृस्तित शान्ति सम्झौताका मूल्य र मान्यता माथि पटक पटक निर्मम प्रहार गरिएकै छ । ६ महिना भित्र शान्ति सम्झौताका कामहरु टुंगाउने भनिएको शर्त आज २० बर्ष सम्ममा पनि जस्ताको तस्तै रहेको छ । चुनाबबाट माओबादीलाई सिध्याउने षडयन्त्र देखेका प्रतिगामीहरुले २०६४ मा नराम्रो धक्का बेहोरेपछि कुनै हालतमा यो संबिधान सभाबाट सम्बिधान बन्न दिनुहुदैन भनेर लागिपरेर माओवादीलाई घेराबन्दि गर्न सफल भए , त्यसपछि जनमुक्ति सेनाको बिसर्जन गरेपछी माओवादी निशस्त्र हुन्छ र कम्जोर बनाउन सकिन्छ भनेर फेरी लागि परे र त्यहाँ पनि उनीहरु सफल हुनसके तर अन्तत माओवादीले संबिधानसभाको नारा नछोडेपछी उनीहरु बाध्य भएर पुन चुनाब गराउन बाध्य भए र लतारिएर भने पनि गरे तर माओबादीधाराले भने दोस्रो संबिधान सभाको आत्मघाती चुनाब भन्दा जनता संग जाने र आन्दोलन बाट पुनः तागत लिने सुनौलो अवसर भने गुमाएकै हो । इतिहासमा यसको समिक्षा भने हुदै जानेछ । खैर आज जे जस्तो भएपनि माओवादीहरुले खोजेको संबिधान भने यो पक्का होइन यो एउटा सम्झौताकै दस्ताबेज हो अब यसलाई भरपुर उपयोग गर्दै नयाँ समाजबादी बाटो खोल्नु आजको पीढीको आबश्यकता हो । यतिबेला एउटा संयोग भने माओवादी नेतृत्वकै सरकार छ यद्धपि यो एकल निर्णय र कार्यान्वयन गर्न सक्ने सरकार होइन । गएको बर्ष जनयुद्द दिबसलाई सार्बजनिक बिदा दिने सरकारको निर्णयलाई यसपालि भने अदालतले उल्टाएको छ , इतिहासमा यो पनि अदालतको निर्णय दुर्नियत या गलत थियो भन्ने पुष्टि समयले गर्दै भने पक्कै जानेछ ।
कतिपय मानिसहरु सरकार नै सबैचिज हो भन्ने बुझ्दछन् र माओवादी प्रति खै सरकारमा हुँदा के गरेउ भनेर औँला ठडाइरहेका छन् जुन स्वागत योग्य नै हो तर सत्ता र सरकार भने धेरै भिन्न चिज हो आज पनि सत्ता माओवादीको होइन पुरानै बुर्जुवाको हातमा रहेको छ जुन अदालत , प्रहरी , सेना,कर्मचारि , जेल, प्रशासन आदि निकायहरु बाट पुरानो सत्ताको गन्धकी दिइरहेका छन् । यी सबै सत्ताको अन्त्य गर्दै नेपालमा आर्थिक क्रान्ति र समाजवादी क्रान्तिको नयाँ मोडल बाट मात्रै खास परिबर्तनको आभास जनताले गर्न पाउने छन यसको अग्निपरीक्षा मा माओवादी र आजको पिढी उभिएको छ ।