विद्यालयका शिक्षक तथा कर्मचारीहरुले विद्यार्थी नेताहरुमाथि गरेको अभद्र व्यवहार प्रति माफी माग्नु पर्ने

दमौली, माघ २४ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल व्यास नगर संगठन समितिले व्यास नपा २ स्थित सत्यवती माविमा संगठन विस्तारको क्रममा गएका विद्यार्थी नेताहरुमाथि सो विद्यालयका शिक्षक तथा कर्मचारीहरुले अभद्र व्यववहार गरेको जनाएको छ । सो पार्टीले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरि विद्यालयका शिक्षक तथा कर्मचारीहरुले विद्यार्थी नेताहरुमाथि गरेको अभद्र व्यवहार प्रति माफी माग्नु पर्ने जनाएको छ ।

सो पार्टीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय कार्यक्रम अनुसार ‘शिक्षमा नीजिकरण, व्यापारीकरण र माफियाकरणको विरुद्ध मिसन एभ्रिडे’ भन्ने मुल नाराका साथ देशव्यापी रुपमा अभियान सन्चालन गरिएको जनाउँदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले यसै शिलशिलामा व्यास नपा २ को सत्यवती माविमा विद्यार्थी जागरण, संगठन विस्तार, शैक्षिक सुधार र विद्यालय परिसरको सौचालय अनुगमन गर्ने क्रममा विद्यार्थी नेताहरुमाथि अभद्र व्यवहार भएको सो पार्टीको व्यास नगर संगठन समितिका संयोजक झरनाद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

 

सौचालय अनुगमनको क्रममा विद्यार्थीहरुले प्रयोग गर्ने सौचालय फोहोर रहेको, सौचालयको ढोकामा चुकुल नभएको, सावुन नभएको तथा शिक्षक एवं कर्मचारीले प्रयोग गर्ने सौचालयमा भने उक्त सबै कुराहरु पाईएपछि अनेरास्ववियु क्रान्तिकारी कार्यकर्ताहरुले शिक्षकले प्रयोग गर्ने सौचालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी पछि उक्त समस्याको बारेमा विद्यालय प्रशासनलाई जानकारी गराउने र समस्याको समाधान गराउने क्रममा विद्यार्थी नेताहरु शिव सदाशंकर, गगन परियार र मनिश रेग्मीमाथी शिक्षक तथा कर्मचारीले अभद्र व्यवहार गरेको सो पार्टीले जनाएको छ ।

विद्यार्थी नेताहरुप्रति अभद्र व्यवहार गर्ने शिक्षक तथा कर्मचारीहरुले सार्वजानिकरुपमा माफी माग्दै विद्यार्थीहरुले उठाएका जायज मागहरु अबिलम्ब पुरा गर्न सो पार्टीले माग गरेको छ ।
यसैविच अनेरास्ववियु क्रान्तिकारीले गरेको सौचालयको अनुगमन पछि सत्यवती मावि प्रशसानले बुधबार विद्यार्थीले प्रयोग गर्ने सौचालय सरसफाई गरि सौचालयको ढोकामा चुकुल समेत हालेको क्रान्तिकारीका जिल्ला अध्यक्ष शिव सदाशंकरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस