पोखरामा ५ करोड रुपैयाँ फिरौती माग गरेको आरोपमा दुईजना पक्राउ

पोखरा । भारतीय सिमकार्ड प्रयोग गरेर ५ करोड रुपैयाँ फिरौती माग्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको छ। पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी र पर्वतकै कुश्मा नगरपालिका– १४ आर्थरका दीपकबहादुर क्षेत्रीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनाबारे सार्वजनिक गरेको छ। ‘सच्चाइ केन्द्र’का अध्यक्ष पकाशदीप गैरेलाई टेलिफोन र म्यासेजमार्फत् ५ करोड रुपैयाँ फिरौती माग गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए।

‘प्रकाशदीप गैरेको सम्बन्धमा युट्युबमार्फत् भिडियो हेर्ने गरेको पाइयो। सच्चाइको पैसा दिन सक्ने व्यक्ति अनुमान लगाएर माघ १३ गते सच्चाइ केन्द्रमै पुगेर १÷२ घण्टा बसेर प्रकाशदीप गैरेको नम्बर लिएर आएको भेटियो, ‘ प्रारम्भिक बयानबारे एसपी थापाले उल्लेख गरे। एसपी थापाका अनुसार माघ १८ गते गैरेलाई ५ करोड फिरौती माग्दै फोन र म्यासेज गरेका थिए।

फोनमा फिरौती माग्दै धम्काएका दर्जी र क्षेत्री पर्सिपल्ट धम्कीको ‘साइड इफेक्ट’ बुझ्न लामाचौरमा रहेको सच्चाइ केन्द्रमै पुगे। फेरि माग २३ गते पनि सच्चाइ केन्द्र पुगेर आधा घण्टा बिताए।

बुधबार भने दुवै जना प्रहरीको फन्दामा परेका छन्। यी दुवैले १ महिना अगाडि मात्रै कास्कीको पोखरा महानगरपालिका– ८ सीमलचौरमा डेरा लिएर बस्न थालेका थिए। डेराबाटै प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस