पोखरा महानगरपालिका ३३ मा भजन कीर्तन तालिम सम्पन्न

पोखरा महानगरपालिका वडा नं.३३ मा भजन कीर्तन तालिम सम्पन्न भएको छ । स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा भजन कीर्तन तालिम आयोजना गरिएको वडा अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पुरानो संस्कृतिका रूपमा रहेको भजन चुट्का लोप हुने अवस्था आएपछि संरक्षणका लागि तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । “गाउँ गाउँमा पहिले सामूहिक भजन गाउने संस्कृति थियो, खुसीयालीका अवसरमा समेत भजन गाउने प्रचलन थियो, वडा अध्यक्ष अधिकारीले भन्नुभयो, अहिले पुरानो पुस्ता कमजोर बन्दै गएपछि यो लोप हुने अवस्थामा पुग्यो, तसर्थ यसलाई पुस्ता हस्तान्तरण गर्ने र संरक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले यस प्रकारको तालिम दिइएको हो ।” वडा नं.३३ का गाउँ गाउँहरूमा भजन संस्कृतिको विकास गरिने उहाँले बताउनुभयो ।

साबिक लेखनाथ नगरपालिकाको वडा नं.१६,१७,१८ का विभिन्न स्थानहरूमा २०=२० जनाको टोली बनाई प्रदान गरिएको तालिममा ६० जनाको सहभागिता रहेको थियो । एक हप्ते भजन कीर्तन तालिममा सहभागीहरूलाई प्रशिक्षकहरू सन्तोष अधिकारी, रमादेवी गौतम र साकार अधिकारीले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

तालिममा सहभागीहरूलाई वडा अध्यक्ष अधिकारीले प्रमाणपत्र प्रदान गर्नुभएको छ । समापनका अवसरमा उनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो । अधिकारीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव युवराज पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस