पर्यावरणीय संरक्षणमा जोड दिदै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरमा कृयाशिल सिलिङ्गे महिला चेतना समूहले दुई शताव्दी पुरानो सिलिङ्गे चौतारा निर्माण गरेको छ ।
प्राचीन कालदेखि अस्तित्वमा रहेको र करिब ३० वर्ष अघि विकास निर्माणका नाममा सिलिङ्गे चौतारा मासिएपछि उक्त स्थानको पहिचानलाई कायमै राख्ने गरी उक्त स्थानमा पुनः चौतारा निर्माण गरिएको हो ।
गण्डकी प्रदेश सकारको एक लाख ५० हजार रुपैयाँ सहयोगका साथै स्थानीयवासीको सहयोग समेत गरी दुई लाख ३५ हजार ५७५ रुपैयाँको लागतमा चौतारा निर्माण गरिएको समूहका अध्यक्ष कर्णकुमारी महतले जानकारी दिनुभयो ।
चौताराको एक कार्यक्रमकाबीच आज गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्दै निर्माणमा सहयोग पु¥याउने सहयोगदातालाई सम्मान गर्नुभयो । उक्त अवसरमा मन्त्री थापाले प्रदेश सरकारको सानो सहयोगमा जनसहभागिता जुटाएर गरिएको निर्माणकार्य प्रशंसनीय रहेको बताउनुभयो ।
आगामी आर्थिक वर्षका लागि पोखरा महानगरपालिका वडा नं ३३ मा गण्डकी प्रदेश सरकारका तर्फबाट विभिन्न ३४ वटा योजनाका लागि पाँच करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी गराउँदै उहाँले यस क्षेत्रको समग्र विकास आँफूहरूको प्राथमिकतामा रहेको बताउनुभयो । नवनिर्मित चौतारामा आजै सिलिङ्गे र समीको विरुवा लगाइएको छ ।
समूहका अध्यक्ष महतले प्रदेश सरकार र स्थानीयवासीको साथ सहयोगका कारण ऐतिहासिक महत्वको सिलिङ्गे चौतारा निर्माण गरिएको बताउनुभयो । पाप्त सहयोगलाई पारदर्शी रुपमा परिचालन गरिएको बताउँदै उहाँले आगामी दिनमा पनि प्रदेश सरकार एवम् स्थानीयवासीको यस किमिमका सहयोग निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले समाजिक जागरणसँगै पर्यावरणीय संरक्षण, विकास लगायतमा समूहले देखाएको सकृयता प्रशंसनीय भएको बताउनुभयो ।
वडा सदस्य दुर्गादेवी थापा केसीले समूहले गर्ने जुनसुकै विकास निर्माणका काममा वडाका तर्फबाट निरन्तर साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
चण्डी माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले महिला सशक्तिकरणसँगै सामाजिक विकासका काममा समूह निरन्तर सकृय बनेको बताउँदै प्रशंसा व्यक्त गर्नुभयो ।
समाजसेवी रामचन्द्र पौडेलले लामो समयदेखि विकासमा पछि परेको भरतपोखरीको समृद्धिका लागि निरन्तर सहयोगको अपेक्षा गरिएको बताउनुभयो । बाँदरका कारण यस क्षेत्रका स्थानीयवासी नराम्रोसँग प्रभावित बनेको बताउँदै उहाँले यसको व्यवस्थापन जरुरी रहेकोमा जोड दिनुभयो । पोखरा–३३ मा महानगरको फोहोर व्यवस्थापन गर्ने विषय स्थानीयवासीका लागि स्वीकार्य नभएको उहाँले बताउनुभयो ।
समूहका अध्यक्ष कर्णकुमारी महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सरला महतले गर्नुभएको थियो भने सञ्चालन सचिव सीता केसी महतले समूहको सकृयतामा यस अघि पनि दुई सयभन्दा बढी वर्ष पुराना मनियलडाँडाको चौतारो, हुडिकोटको चौतारो निर्माण गरिसकेको छ ।
समूहकै सकृयतामा मल्लकालीन समयदेखि अस्तित्वमा रहेको हुडिकोट देउराली मन्दिर निर्माण गरिएको छ भने मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोटलगायतका स्थानमा समय समयमा सरसफाइकार्यलाई पनि निरन्तरता दिइएको छ । समूहले मनियलडाँडा–हुडिकोट सडकअन्तर्गत १०० मिटर नाला र ७० मिटर ग्राबेल गर्ने काम गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आव २०७८÷७९ मा विनियोजित दुई लाख र जनसहभागिता रु ३० हजार र श्रमदान रु १५ हजार गरी रु दुई लाख ४५ हजारमा उक्त योजना सम्पन्न गरेको छ । समूहकै सक्रियतामा बर माझथरमा रु ५० हजारको लागतमा प्रतिक्षालय निर्माण गरिएको छ ।