पार्टी र जनताको शक्ति मिल्नासाथ यो सत्ता ढल्छ : विप्लव

काठमाडौँ : नेकपाका महासचिव विप्लवले नेपालको एक मात्र क्रान्तिकारी र देशभक्त शक्ति नेकपामा मात्र जागरण रहेको र अरू सबै पार्टी शिथिल भएको बताएका छन् । नेकपाभित्र पूर्ण जनवाद रहेको प्रस्ट पार्दै महासचिव विप्लवले क्रान्ति देश, जनता र श्रमिक वर्गका साथै आफ्नो भविष्यसँग सरोकार रहेको विषय भएकाले पार्टीका सबै तह र तप्का चिन्तित रहेको पनि प्रस्ट पारे ।

रातो खबर केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा सोमबार काठमाडौँमा आयोजित अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी महासचिव विप्लवले विश्वको पछिल्लो अन्तरविरोधले पनि एकीकृत जनक्रान्तिको कार्यदिशाको संश्लेषण सही साबित हुँदै गएको प्रस्ट पारे । प्रचण्ड–बाबुरामहरू विश्व एकध्रुवीय भएकाले अहिले क्रान्ति सम्भव छैन भन्दै क्रान्तिबाट भागेको समयमा विद्रोह गरी नेकपा स्थापना गरिएको घटना स्मरण गराउँदै महासचिव विप्लवले रुस–युक्रेन युद्धले विश्व बहुध्रुवमा विभाजित भएको प्रस्ट पारेको र क्रान्तिहरू सम्भव हुने निष्कर्ष सही साबित भएको पनि बताए । विश्व बहुध्रुवमा विभाजित भएपछि केही समय युद्ध हुने, नयाँ शीतयुद्धतिर जाने, हाम्रोजस्ता देशमा क्रान्ति ल्याउने र नकारात्मक रूपमा मुलुक साम्राज्यवादी युद्धमैदानसम्म बन्नसक्ने दुवै सम्भावना र खतरातर्फ सङ्केत गर्दै महासचिव विप्लवले विश्वमा एउटा नयाँ क्रान्तिको लहर आउने सम्भावना प्रबल भएकाले आउँदो दशक नेपाल क्रान्तिका लागि अत्यन्त अनुकूल हुने संश्लेषण गरे ।

नेपालमा दीर्घकालीन जनयुद्ध सम्भव रहे पनि केन्द्रीय सत्ता कब्जा गर्न विविध किसिमका बाधाहरू रहेका उदाहरणहरू प्रस्तुत गर्दै महासचिवले पार्टी र जनताको शक्तिलाई एक ठाउँमा ल्याउनासाथ यो सत्ता ढल्ने विश्वास पनि व्यक्त गरे । जनता र पार्टीको शक्ति नमिलाईकन गरिने विद्रोहले पुरानो सत्तालाई क्षति पुर्याउन सकिने भए पनि क्रान्तिलाई विजयसम्म पुर्याउन भने मुस्किल हुने उनको तर्क थियो । दुस्मनले प्रतिविद्रोहात्मक रणनीति अख्तियार गरेर क्रान्तिकारीहरूलाई सहर र गाउँ दुवैतिर स्थायी रूपले टिक्न नदिने नीति लागू गरेकाले दुस्मनको नीति र कार्यक्रमलाई उल्ट्याइदिँदै पार्टीले जनतामा स्थापित हुने कार्यनीति अघि बढाएको महासचिवले बताए । जनतामा निर्भर क्रान्तिकारी शक्ति भएकाले जनताले पार्टी कसरी अघि बढोस् भन्ने चाहेका छन्, त्यसरी अघि बढ्नुपर्ने धारणा प्रस्तुत गर्दै महासचिवले एकीकृत जनक्रान्तिको कार्यदिशा सफल नभएसम्म बाधाहरू आइरहने भएकाले जित्ने गरी लड्नुपर्ने पनि प्रस्ट पारे । क्रान्ति पुरानो, बनिबनाउ तरिकाले नभएर नयाँ र सिर्जनशील तरिकाले पूरा हुने र त्यो आफ्नो जीवनमै सम्भव हुनेमा पनि महासचिवले जोड दिए । संसदीय व्यवस्था पूर्ण रूपले असफल, सङ्कटग्रस्त र बदनाम भइसकेका उदाहरणहरू प्रस्तुत गर्दै महासचिवले जनता र क्रान्तिकारी शक्तिबीचको एकता नयाँ शक्तिमा विकास भएपछि दलाल पुँजीवादी सत्ताको चिहानमा वैज्ञानिक समाजवाद उदाउने दृढता पनि प्रस्तुत गरे । क्रान्ति विजयमा पुर्याउने सामथ्र्य विकास नभएसम्म जनताको पार्टीमाथिको अपार मायालाई शक्तिमा बदल्दै अघि बढ्नुपर्नेमा महासचिवको जोड थियो । क्रान्तिका लागि सङ्गठनात्मक क्षमता अभिवृद्धि गर्ने, राष्ट्रघाती र राष्ट्रवादी शक्तिलाई ध्रुवीकृत गराउने, सहर र गाउँ दुवैलाई नछोड्ने, जनतासँगको सम्बन्ध थप सुदृढ र व्यापक बनाएर लड्नका लागि अझ सक्षम बनाउने, विज्ञान–प्रविधिलाई क्रान्तिको साधन बनाउने, अन्तर्राष्ट्रिय सम्बन्ध र भाइचारा विकास र विस्तार गर्ने, समाजवादी शक्तिहरूसँग सम्बन्ध बढाउने, छिमेकीहरूलाई क्रान्तिको पक्ष र समर्थनमा पार्नेलगायत क्रान्ति सफलताका पूर्वतयारी र सूत्रहरू पस्किँदै महासचिव विप्लवले चुनाव प्रयोगका सन्दर्भमा पार्टी केन्द्रीय समितिले गरेको निर्णय अक्षरशः पालना गर्नुपर्ने पनि प्रस्ट पारे । ‘दर्ता नै गरेर पार्टी चुनावमा जाँदैन । एमसीसीविरोधी, देशभक्त, राष्ट्रवादीहरूलाई सहयोग गर्न सकिने निर्णय भएको छ । पार्टी निर्णयलाई दृढतापूर्वक लागू गर्नुपर्छ’, महासचिवले भने ।

विभागका इन्चार्ज रहेका नेकपाका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ ‘प्रज्वलन’ ले जनक्रान्तिमा सञ्चारको महत्वपूर्ण भूमिका रहेको र रातो खबरले त्यो इमानदारीपूर्वक निर्वाह गर्दै आएको बताए । देशभर पार्टी निकट सञ्चारलाई एउटै प्रणालीमा सङ्गठित गरेर जारी जनक्रान्तिलाई अझै प्रभावकारी बनाउनुपर्ने र दुस्मनले पार्टी, नेतृत्व र क्रान्तिविरुद्ध गरेका षड्यन्त्र र फैलाएका भ्रमहरूलाई निमिट्यान्न हुने गरी चिर्नुपर्ने प्रज्वलनले बताए । पार्टी केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरूलाई इमानदारीपूर्वक पालना गर्न पार्टीका नेता–कार्यकर्तालाई सुझाव दिँदै नेकपाका युवा नेता प्रज्वलनले क्रान्तिलाई घाटा र दुस्मनलाई फाइदा हुने गतिविधि नगर्न सबैलाई सावधान पनि गराए ।

अन्तरक्रियात्मक प्रशिक्षणमा रातो खबर केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा आबद्ध अशोक सुवेदी, अम्बिका चन्द, आशिष चौधरी, धनराज शाही, झनक श्रेष्ठ, जानकी चौधरी, शेरबहादुर विश्वकर्मा, धीरेन्द्र बोहोरा, चूडामणि श्रेष्ठलगायत सदस्यहरूले पार्टी र क्रान्तिको भविष्यप्रति चिन्ता गर्दै पार्टी केन्द्रीय समितिको निर्णय लागू गरी एकजुट भएर अघि बढ्न र पार्टी र क्रान्तिलाई जोगाउन महासचिव विप्लवलाई सुझाव दिएका थिए । ई-रातो खबर

प्रतिक्रिया दिनुहोस