भारतमा थप ३२५ मेगावाट बिजुली निर्यातका लागि नेपाललाई अनुमति

काठमाडौँ — नेपालले भारतीय ऊर्जा बजारमा थप ३ सय २५ मेगावाट बिजुली निर्यातका लागि अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन मा जानकारी दिएकी हुन् ।

नेपालले मर्स्याङ्दी (६७ मेगावाट ), मध्य मर्स्याङ्दी (६८ मेगावाट), त्रिशुली (२२ मेगावाट), देवीघाट (१४ मेगावाट) कालीगण्डकी ए (१४० मेगावाट) र लिखु (५१ मेगावाट) बराबर बिजुली भारतीय बजारमा बेच्न स्वीकृति पाएको हो ।

यसअघि गत कात्तिकमा नेपालले ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो । यसरी नेपालले अब कुल ३ सय ६४ मेगावाट बिजुली भारत निर्यात गर्न पाउनेछ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यातका लागि स्वीकृति पाएको जानकारी दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस