भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भ्रमणका लागि आज (शुक्रबार) टोलीसहित भारत भ्रमणमा निस्केका छन्।
देउवा ४ मन्त्रीसहितको टोली लिएर भारतको औपचारिक भ्रमणमा निस्केका हुन्। देउवासँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा छन्।
साथै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिर्सिङ पनि रहेका छन् । सरकारले प्रधानमन्त्री देउवाले आजदेखि ३ दिनसम्म गर्ने भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरिसकेको छ।
भ्रमणको कार्यतालिका हेर्नुहोस्
शुक्रबार
भारतीय समय अनुशार दिउँसो २ः५० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल अवतरण।
अपराह्न ४ः३० बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरले दिल्लीस्थित होटल मौर्यमा शिष्टाचार भेटघाट।
शनिबार
बिहान १०ः४० बजे प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको शालिकमा श्रद्धाञ्जली अर्पण।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ११ः१० बजे हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता।
मध्याह्न १२ः१५ बजे नेपाल र भारतबीच सम्झौतापत्रहरूमा हस्ताक्षर। देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन।
अपराह्न १६ः३० बजे प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति नायडुसँग मौलाना आजाद रोडस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेटघाट।
आइतबार
बिहान ९ बजे वाराणसी पुग्ने। त्यहाँ आयोजना गरिने कार्यक्रममा सहभागी हुने।
अपराह्न ४ः०० बजे वाराणसीबाट नयाँ दिल्ली फर्किने।
अपराह्न ४ः१५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने।