पार्टी एकता देखि चुनाव बहिष्कार गर्ने सम्म बैध माओवादीको निर्णय !

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समिति बैठकले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले जारी गरेको प्रेस वक्तव्यमा आसन्न स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको उल्लेख छ ।

पार्टीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘अहिले संसद्मा राष्ट्रघाती एमसीसी अनुमोदन गर्ने काममा नेकाका साथै कम्युनिस्ट नामधारी माके, एकीकृत समाजवादी, एमालेलगायत राजनीतिक दलहरुद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको स्थितिमा तिनको अझै भन्डाफोर गर्न अति जरुरी भएको, निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने सम्भावना नरहेको र पार्टीको क्रान्तिकारी छवि उपयोग होइन, बहिष्कारद्वारा नै समुज्ज्वल हुने देखिएकाले स्थानीय निर्वाचनको बहिष्कार गर्ने नीति अवलम्बन गरिएको हो ।’ साथै बहिष्कार आन्दोलनलाई दुईमहिने अभियान बनाई सञ्चालन गर्ने निर्णयसमेत लिइएको वक्तव्यमा उल्लेख छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा भने क्रान्तिकारी माओवादी सहभागी भएको थियो ।

यस्तै ३ दिनसम्म काठमाडौँमा बसेको बैठकले विप्लवसहित अन्य ५ कम्युनिष्ट पार्टीसँग तत्काल एकता गर्ने प्रस्ताव पारित गरेको छ । बैठकले पातलो मशाल बाहेक अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुसँग एकता गर्ने प्रस्ताव पारित गरेको हो । 

प्रतिक्रिया दिनुहोस